बागमती प्रदेश सरकारले प्रदेश मातहतका कार्यालयमा कार्यरत करार सेवाका कर्मचारीलाई पनि महँगी भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले करार सेवाका कर्मचारीहरूलाई पनि महँगी भत्ता दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनालले जानकारी दिए । बागमतीका करार कर्मचारीहरूले अब मासिक २ हजार रुपैयाँका दरले महँगी भत्ता पाउने भएका छन् ।
मन्त्रिपरिषद् बैठकले गत आर्थिक वर्षमा विकास योजनाको काम सम्पन्न भएका र असार मसान्तमा लेखाको सूत्र बन्द भएर भुक्तानी हुन बाँकी रहेको करिब ३ अर्ब रुपैयाँ रकमको यकिन विवरण संकलन गरेर भुक्तानी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको मन्त्री खनालले जानकारी दिए ।
यसैगरी, मन्त्रिपरिषद्ले प्रादेशिक संरचना निर्माणका लागि हेटौँडाको थप एक जग्गाको भोगाधिकारका लागि संघीय सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
हेटौँडा उपमहानगरपालिका–१७ हटियास्थित मकवानपुर बहुमुखी सहकारी संस्था लिमिटेडको नाममा रहेको कित्ता नम्बर १८३ को १२ कठ्ठा १२ धुर जग्गामा संरचना बनाउने गरी अनुमतिका लागि सिफारिस गरिएको मन्त्री खनालले बताए ।
यसअघि ८ कठ्ठा जग्गाको सिफारिस भएपछि १८३ नम्बर कित्ताको जग्गा छुटेको उनले बताए । प्रदेश सरकारले यसअघि ७ स्थानको जग्गा छनोट गरेर स्वीकृतिका लागि संघीय सरकारलाई सिफारिस गरेपनि हालसम्म कुनै निर्णय नभएको खनालले बताए ।