लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद राजेन्द्र महतोले आफ्नो पार्टी सरकारमा सहभागी बन्ने वा नबन्ने भन्ने विषयको चाँडै टुंगो लाग्ने बताएका छन् ।
मंगलबार संसदबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै महतोले सरकारमा मन्त्री बन्ने कुरा र आगामी निर्वाचनको लागि गठबन्धन गर्ने कुरामा छलफल भइरहेको जानकारी दिए ।
‘हामी चुनावको तयारीमा लागिसकेका छौँ । गठबन्धनको सवाल पनि उठिरहेको छ । तर अहिले ५ दलीय जुन गठबन्धन हो त्यो गठबन्धनको तर्फबाट आमन्त्रण आइरहेको छ । कुरा पनि भइरहेको छ,’ महतोले भने, ‘चाँडै यो विषयमा हामी टुंगोमा पुग्नेछौँ । छैटौँ दलको रूपमा गठबन्धनमा जाने हो वा होइन चाँडै हामी टुंगोमा पुग्छौँ ।’
छलफल सकारात्मक रहेको र अबको केही दिनमा नै टुंगो लाग्ने महतोको भनाइ थियो । जसपासँग सँगै बसेर काम गरिसकेकोले सरकारमा सँगै बस्नको लागि कुनै कठिनाई नरहेको महतोको भनाइ थियो । ‘जसपा र हामी एउटै सरकारमा बसेर जान केही गाह्रो छैन । सरकारको कुरा पनि भइरहेको छ,’ उनले भने ।

