भरतपुर । अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) उत्तम सुवेदीले चिनेजानेकै व्यक्तिहरुबाट नेपालमा आपराधिक घटना हुने गरेको बताएका छन् । विगत १५ वर्षदेखिको तथ्याङ्कलाई आधार मान्दा ८० प्रतिशतभन्दा बढी अपराधमा संलग्नहरु आफन्त नै हुने गरेको उनले बताए । ‘१५ वर्षअघि ८० प्रतिशतजति अपराध नचिनेको व्यक्तिबाट हुने गरेकोमा १५ वर्षयताको अपराधको प्रवृत्ति हेर्दा ८० प्रतिशत बढी अपराध चिनेजानेकै व्यक्तिबाट भएको छ’, एआइजी सुवेदीले भने ।
श्रीमान्श्रीमती, दाजुभाइ, बाबुछोरा, सासूबुहारी, काकाभतिजा, मामाभान्जाजस्ता नातासम्बन्धभित्र नै गम्भीर प्रकृतिका घटना हुने गरेको उल्लेख गर्दै एआइजी सुवेदीले पछिल्लो समय चिनेजानेकैबाट घटना हुने गरेकाले अपराध अनुसन्धानको सुई पनि घरभित्रै सोझिने गरेको बताए । ‘विगतका दिनहरुमा उल्लेखित नातासम्बन्धभित्र अपराध हुनु भनेको निकै नौलो र बिरलै हुने घटनाका रुपमा लिइन्थ्यो, अहिले केही घटना भयो कि पीडितकै नजिकको मान्छेबाट अनुसन्धान थाल्नुपर्ने देखिन्छ’, एआइजी सुवेदीले भने ।
‘कुनै एउटा घटनाको अनुसन्धान थाल्यो, प्रमाणहरु जुटाउँदै जाँदा घरभित्रकै मान्छे अपराधमा संलग्न भएको भेटिन्छ’, उनले भने, ‘अपराधी खोज्न अब घरभित्रैबाट अनुसन्धान सुरू गर्दा छिटो हुनेजस्तो देखिन्छ ।’
बागमती प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा बोल्दै एआइजी सुवेदीले सूचना प्रविधिको बढ्दो सुविधाका कारण आर्थिक अपराध बढेको बताए । यस्ता आर्थिक अपराधबाट सहरका र शिक्षित व्यक्तिहरु नै बढी पीडित बनेको उनको भनाइ छ । अपराध गर्नेहरु सूचना प्रविधि प्रयोगमा अगाडि छन्, तर प्रहरी धेरै पछाडि छ’, उनले भने । प्रहरीलाई स्रोतसाधनसम्पन्न बनाएमा धेरै समस्याको तत्कालै समाधान गर्न सकिने उनको भनाइ छ ।
कार्यक्रममा बोल्दै बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले अपराध अनुसन्धानका लागि नेपाल प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको बताए । साथै उनले मुद्दाका आरोपितलाई हिरासत वा जेलमा राख्नुभन्दा पनि राज्यले कुनै असल काममा जनशक्ति प्रयोग गर्नुपर्ने बताए ।
उनले भने, “दण्ड सजायमा कैद र जरिवानाभन्दा पनि समाज रुपान्तरणतर्फ ध्यान पु¥याउनुपर्छ ।” समय अनुकूल दण्ड सजायलाई परिमार्जन गर्दै लैजानुपर्ने उनको भनाइ थियो । उनले भने, “दण्ड सजाय पाएका व्यक्तिहरुलाई समाजको विकासमा प्रयोग गर्न सक्नुपर्छ ।” अहिले चलेको परम्परागत ढङ्गको अनुसन्धानलाई परिस्कृत र परिमार्जित गर्दै लैजान सक्नुपर्ने उनको भनाइ थियो । यसका लागि अनुसन्धान अधिकारीको क्षमता विकास र अपराध नियन्त्रणको विषयमा काम गर्नुपर्ने खनालले बताए ।
बागमती प्रदेशका महान्यायाधिवक्ता श्यामनारायण श्रेष्ठले बदलिँदो कानुनी पक्षलाई ख्याल गर्नुपर्ने बताए । अहिले अपराधको स्वरुप परिवर्तन भएको भन्दै उनले समाज जटिलतातर्फ जाँदै गरेको बताए । साइबर अपराधका विषयमा कक्षा ८ देखि १२ सम्मको पाठ्यक्रममा विषयवस्तु समावेश गर्न सके अपराध नियन्त्रणमा सहज हुने उनको भनाइ थियो ।
चितवन जिल्लाका जिल्ला न्यायाधीश रितेन्द्र थापाले अपराध अनुसन्धानमा सुरू अवस्थामै त्रुटि भएमा त्यसको असर मुद्दाको हरेक प्रक्रियामा पर्ने बताए । प्रहरीले कुनै पनि मुद्दा उठान गर्दा स्वतन्त्र भई काम गर्नुपर्ने बताए । उनले भने,
“अभियोजनकर्ता स्वतन्त्र, न्यायाधीश स्वतन्त्र हुन्छ तर, अनुसन्धानकर्तालार्ई दबाबमा किन पारिन्छ ?” अनुसन्धान अधिकृतले अनुसन्धान गर्दा जे भेटिन्छ त्यो सरकारी वकिलकामा लैजान्छु भन्नेमा लाग्नुपर्छ । अनुसन्धान अधिकृतले अध्ययन गर्ने बानी बसाल्न सकेमा अपराधीले उन्मुक्ति पाउन नसक्ने उनको भनाइ थियो ।
काम गर्ने क्रममा जिम्मेवार व्यक्तिहरुबाट समेत दबाब आउने गरेको उल्लेख गर्दै चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले अपराध अनुसन्धानमा सीमित स्रोतसाधनका बाबजुद पनि प्रहरीले राम्रो काम गरिरहेको बताए ।
कार्यक्रममा बोल्दै डिआइजी भीम ढकालले सातवटै प्रदेशमा अपराध अनुसन्धानबारे समीक्षा गरी अन्तिममा उपत्यकामा कार्यक्रम गरिने जानकारी दिए ।

