भरतपुर । कालिका नगरपालिकाले दमकल खरिद गर्दाको खर्चको प्रमाण नै फेला पर्न सकेको छैन । महालेखाको २०७९ को वार्षिक प्रतिवेदनमा कालिका नगरपालिकाको दमकल खरिद गर्दाको खर्चको प्रमाण नभएको उल्लेख छ ।
प्रतिवेदनमा भनिएको छ, ‘खैरहनी नगरपालिकासहित राप्ती, रत्ननगर, कालिका नगरपालिकाले संयुक्तरुपमा बारूणयन्त्र सञ्चालनमा ल्याएको पाइयो । बारूणयन्त्र सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७६ बमोजिम गठित समितिमार्फत सञ्चालन भएकोमा आम्दानी, खर्च तथा बिल भरपाईको व्यवस्थित अभिलेख लेखापरीक्षण अवधिमा पेश भएन । बिल भरपाई पेश नभएकोले आयव्ययको वास्तविक अवस्था यकिन हुन सकेन ।’
दमकल खरिदमा ३० लाख खर्च त देखाइएको छ, तर खर्च पुष्टि हुने प्रमाण नभेटिएको प्रतिवेदनमा उल्लेख छ । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ८ (२) मा सार्वजनिक खरिद गर्दा प्रतिस्पर्धा सीमित हुने गरी टुक्रा–टुक्रा पारी खरिद गर्न नहुने व्यवस्था छ ।
‘पालिकाले देहायबमोजिमको खरिद कार्य गर्दा ५ लाखभन्दा घटीको लागत अनुमान तयार गरी खुला कोटेसनबाट लागत अनुमानकै हाराहारीमा सोझै गराएको देखियो’, महालेखाको प्रतिवेदनमा भनिएको छ, ‘यस्तो खरिद कार्य गर्दा खरिद प्याकेज बनाई प्रतिस्पर्धात्मक विधिबाट गराउनुपर्छ ।’
यस्तै, कालिका नगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा निकासा भएको रकमको एकीकृत अभिलेख देखिने गरी लेखा टिप्पणी समावेश गरेको नेदेखिएको प्रतिवेदनमा भनिएको छ । सार्वजनिक खरिद नियमावली पनि नियमसंगत नदेखिएको प्रतिवेदनमा उल्लेख छ ।
कालिका नगरपालिकाले स्वास्थ्य सेवामा ल्याब टेक्निसियनमा १ र कार्यालय सहयोगी २ गरी ३ जना बढी कर्मचारी नियुक्त गरी तलब खर्च गरेको महालेखाको प्रतिवेदनमा भनिएको छ । ‘कृषक समूहले पकेट कार्यक्रममा प्रयोग हुने बीउ तथा उपकरण खरिद गर्दा प्रतिस्पर्धी विविध प्रयोग नगरी एउटै आपूर्तिकर्तासँग पटकपटक ५ लाखभन्दा बढीको खरिद कार्य गरेको देखियो’, प्रतिवेदनमा थप भनिएको छ ।
कालिका नगरपालिकाका नगरप्रमुख विनोद रेग्मीले विगतका कमजोरीलाई स्वीकादै अघि बढ्ने बताए । उनले भने, ‘विगतका केही कमजोरी छन् भने सच्याएर अघि बढ्छौँ ।’
अर्थ–राजनीतिक विश्लेषक डा. कृष्णप्रसाद पौडेलका अनुसार पालिकाहरुमा महालेखाले धेरै समस्याहरु औँल्याएको छ । उनले भने, ‘संघीय सरकारले स्थानीय विशेषता नहेरी कानुन बनाउने र स्थानीय सरकारले आफ्नो स्थानीय विशेषताहरुलाई हेरेर कानुन निर्माण गर्ने परिपाटीले केही समस्याहरु आएका हुन् ।’
आर्थिक विज्ञ कपिलदेव सुवेदीले स्थानीय पालिकामा विकास खर्चमा धेरै अनियमितता महालेखाले औँल्याएको बताए । उनले भने, ‘बर्सेनि महालेखाले पालिकाहरुमा धेरै समस्याहरु देखाइरहेको छ, एउटा कालिका नगरपालिकाको मात्र कुरो होइन सबै पालिकाहरुमा धेरै समस्या छन्, यसलाई पालिका आफैँले सुधार गरेर जान जरूरी छ ।’

