काठमाडौ, भदौं १: काठमाडौँ–नुवाकोट सडकअन्तर्गत तीनपिप्ले–बञ्चरेडाँडा सडक निर्माणको ठेक्का पाएको शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सनको ठेक्का रद्द भएको छ ।
मंगलबार जिल्ला अदालत ललितपुरले ठेक्का रद्द गर्ने फैसला गरेसँगै सडक विभागलाई गर्दै एक करोड ५५ लाख रुपैयाँ जरिवानासहित तीन वर्ष कालोसूचीमा राख्ने बाटो खुलेको हो । अधिकारी प्रचण्डको घरबेटीको रुपमा परिचित रहँदै आएका छन् ।
न्यायाधीश सीता शर्मा अधिकारीको एकल इजलासले यसअघिको अन्तरिम आदेश खारेज गर्दै सडक विभागको पक्षमा फैसला आएको हो । गत असार ८ गते सडक विभागले सो कम्पनीलाई दिएको ठेक्का रद्द गर्ने निर्णय गरेको थियो । सोविरुद्ध शैलुङ कन्स्ट्रक्सन अदालत गएको थियो ।
यसअघि अदालतले सो मुद्दामा अन्तरिम आदेश दिँदै ठेक्का रद्द गर्ने निर्णय कार्यान्वयन नगर्न सडक विभागलाई निर्देशन दिएको थियो । निर्माण व्यवसायी अधिकारीको शैलुङ कन्स्ट्रक्सनले सो सडकको ८ वर्षअघि ठेक्का पाएको थियो । त्यसपछि ७ पटकसम्म सडकको म्याद थप्दासमेत सडकको काम सकिएको थिएन । सो सडकमा हालसम्म ५० प्रतिशत मात्र प्रगति भएको सडक विभागको भनाइ छ ।
८ वर्षअघि सडक विभागले ३१ करोड लागतमा २ वर्षमा काम सम्पन्न गर्ने गरी सम्झौता गरे पनि सो कम्पनीले ८ वर्षसम्म पनि काम सम्पन्न गर्न नसकेको हो । ७ औँ पटक थपिएको म्याद गएको चैतमा सकिएपछि सडक विभागले बाध्य भएर ठेक्का सम्झौता तोडेको थियो ।
सो सडकखण्डको ८ किलोमिटर सडक फोहोर बिसर्जनका लागि प्रयोग हुने गरेकोमा बाटो नबन्दा फोहोर बोकेका सवारी चालकले हैरानी पाउँदै आएका थिए । सो ठेक्का सम्झौता तोडिएसँगै विभागलाई सो सडक निर्माणका लागि नयाँ ठेक्का प्रक्रिया गर्नका लागि बाटो खुलेको छ ।
बालेनको फेसबुक स्टाटसको तरंग
काठमाडौं उपत्यकामा वर्षौंदेखि फोहोरको समस्या बल्झिनुमा सिसडोल र बञ्चरेडाँडाका स्थानीय बासिन्दाको आन्दोलन मात्र कारण होइन । अर्को प्रमुख कारण फोहोर ओसार्न प्रयोग हुने बाटो समयमा नबन्नु र मर्मतसम्भार नहुनु पनि हो । बालाजु–रानीपौवाको सडक आठ वर्षदेखि बन्न नसक्नुले फोहोर ढुवानीमा समस्या उत्पन्न हुँदै आएको छ ।
यही समस्यामाथि टिप्पणी गर्दै मेयर बालेन शाहले मंगलबार आफ्नो आधिकारिक फेसबुक र ट्विटरमा लेखेका छन्, ‘श्रीमान् प्रचण्डज्यू ! उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो विगत ८ वर्षदेखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अंगरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर ।’
बालेन शाहले स्टाटसमा ‘ककनीको बाटो’ भनेर बालाजु–रानीपौवा सडकलाई भनेका हुन् । यो सडकको ठेक्का माओवादी अध्यक्ष प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सनले पाएको थियो ।
यो कम्पनी समयमा काम नगर्ने सरकारी सूचीमा पर्छ । यसले ठेक्का लिएका अधिकांश सडक समयमा बन्न सकेका छैनन् । त्यसैमध्ये ककनीको सडक पनि एक हो । शैलुङ कन्स्ट्रक्सनले ठेक्का पाएको आठ वर्षदेखि यो सडक नबन्नुले काठमाडौंको फोहोर व्यवस्थापनमा समस्या उत्पन्न हुँदै आएको छ । मेयर शाहले यसैतर्फ इंगित गर्दै प्रचण्डको नामै किटेर सामाजिक सञ्जालमा लेखेका हुन् ।
ठेकेदार अधिकारीले लामो समयदेखि प्रचण्डलाई आफ्नो घर भाडामा दिएका छन् । सहरमा उनको परिचय नै ’प्रचण्डको घरबेटी’ भन्ने छ । मेयर शाहले यसैलाई कटाक्ष गर्दै प्रचण्डलाई समयमा काम पूरा नगर्ने ठेकेदारको घरमा ’अंगरक्षक’ बसेको भनेका छन्।
उनले सामाजिक सञ्जालमा उक्त बाटोको भिडिओ क्लिप राखेका छन् जसमा त्यहाँको जीर्ण र हिलाम्मे अवस्था देखिन्छ । उक्त बाटोमा सवारी साधन गुड्न सम्भव छैन। यो बाटो एक दिन पानी पर्नासाथ अवरूद्ध हुन्छ र फोहोरमैलाको गाडी गुड्न सक्दैन। यसले काठमाडौंका सडकमा फोहोर थुप्रिन थालिहाल्छ।
यसअघि मेयर शाहले काठमाडौंको फोहोरमैला व्यवस्थापनमा एउटा सरकारले अर्को सरकारलाई असहयोग गरी असफल बनाउन राजनीतिक खेल खेलेको टिप्पणी गरेका थिए।