विनोद अधिकारी , चितवन, ३ भदौ : चितवनमा एक वर्षमा १५८४ वटा नयाँ उद्योग थपिएको छ । घरेलु तथा साना उद्योग कार्यालय चितवनका अनुसार ०७८ साउन देखि ०७९ असार सम्मको अवधिमा विभिन्न प्रकृतिका १५२४ उद्योग थपिएका हुन् ।
सबैभन्दा धेरै कृषि तथा वनपैदावर उद्योग दर्ता भएको घरेलु कार्यालय चितवनका प्रमुख यादवनाथ आचार्यले बताए । उनका अनुसार गत आर्थिक वर्षमा कृषि तथा वनपैदावर उद्योग १०३७ वटा, पर्यटन उद्योग १७वटा, उत्पादनमुलक २३१ वटा र २९९ वटा सेवा मूलक उद्योग थपिएका छन् । दर्ता उद्योगमा १५४४ वटा प्राइभेट र ४० वटा साझेदारी फर्म रहेको कार्यालयले जनाएको छ ।
गत वर्ष जिल्लामा १६५६ उद्योग नवीकरण भएको छ भने १११ वटा उद्योगको नामसारी, ३२५ वटा उद्योगको पुँजी वृद्धि, ३९ को नाम परिवर्तन र २८७ उद्योगको लगतकट्टा गरिएको कार्यालय प्रमुख आचार्यले बताए । यसैगरी वाणिज्य तर्फ १२२४ वटा नयाँ फर्म दर्ता भएका छन् भने २१९८ वाणिज्य फर्म नवीकरण भएको छ ।
कार्यालयले गत वर्ष उद्यमशीलता विकास तालिम र सिप विकास तालिम दिएको थियो । कार्यालयले पर्यटन प्रवर्द्धनका लागि पदमार्ग, पार्क लगायतका पर्यटकीय संरचना समेत निर्माण गरिएको घरेलु कार्यालय चितवनले जनाएको छ ।

