भरतपुर महानगरपालिकाले सेवा प्रवाहलाई थप चुस्तदुरुस्त बनाउन प्रमुख प्रसाशकीय अधिकृतसँग कार्यसम्पादन करार सम्झौता गरेको छ । महानगर मातहतका ४ वटा महाशाख, ३३ वटा शाखा र २९ वडा कार्यालयका सचिवसँग कार्यसम्पादन करार सम्झौता गरिएको छ ।
कार्यालयले मासिक रुपमा सम्पादन गर्नुपर्ने कार्यको सूचक निर्धारण गरी भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र प्रमुख प्रसाशकीय अधिकृत रामबन्धु सुवेदीबीच सोमबार महानगर सभाहलमा कार्यसम्पादन करार सम्झौता भएको हो । एक वर्षे कार्यअवधि रहेको कार्यसम्पादन सम्झौताले निर्धारण गरेका सूचकको मासिक, चौमासिक, वार्षिक रुपमा सम्झौता गर्नेले सम्झौता गराउनेलाई प्रतिवेदन बुझाउनु पर्ने करार सम्झौतामा उल्लेख गरिएको छ ।
वडा नम्बर १ का सचिव मधुराम दवाडीले करार सम्झौता अनुसार नै कार्य सम्पादन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । वडा सचिव दवाडीले महानगरको मर्म र भावना अनुसार सबैसँग सम्वन्य गर्दै अगाडि बढ्ने उल्लेख गर्नुभयो । यो सम्झौता गरेपछि महानगरको सेवा प्रवाह छिटो छरितो र गुणस्तरीय हुने, विकास निर्माणको कार्यमा थप गतिशिलता हुने, निर्धारित समयमा कार्य सम्पादन हुने र स्थानीय तहहरुको वार्षिक रुपमा हुने स्वमूल्याङ्कनको कार्यमा थप उपलब्धी हासिल हुने विश्वास लिइएको छ ।
यही करार सम्झौता अनुसार कार्य सम्पादन भएका आधारमा कर्मचारीको वृत्ति विकास, दण्ड र पुरस्कृत गर्ने महानगरले जनाएको छ । यस अघि प्रमुख प्रशासकीय अधिकृतसँग महाशाखा, शाखा र वडा सचिवबीच सम्झौता हुने भएपनि महानगर प्रमुख र उपप्रमुखसँग यो पहिलो पटक सम्झौता भएको हो । यो सम्झौताले महानगरको कार्य सम्पादनमा थप सुधार हुने अपेक्षा गरिएको छ ।

