चितवन, भदौं ७ : राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डेले देशलाई सिक्किमिकरण गर्ने षडयन्त्र भइरहेको बताएका छन् ।
राष्ट्रिय प्रजातान्त्रिक भूपु सैनिक संगठन चितवनको कार्यसमिति गठन कार्यक्रममा बोल्दै पूर्वमन्त्री पाण्डेले सिद्धान्तहिन बनेका दलहरु विदेशीको इशारामा लागेको आरोप लगाएका छन् ।
‘अनेक बहाना बनाएर देशलाई सिक्किमिकरण गर्न छदम्भेसमा नेताहरु लागेका छन्’, उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति लक्षित गर्दै भने, ‘कमजोर भएँ, प्रधानमन्त्री बनाइदिनु, मेरा मान्छेलाई मन्त्री, सांसद बनाइदिनु भन्दै हिड्न थालेका छन् ।’ उनले संसदीय व्यवस्थानै ठिक छैन भन्दै हिडेका नेताहरु अहिले अलमलिएको बुटवा सरह बनेको बताए । ‘पूर्व जाने पश्चिमतिर, पश्चिम जाने पूर्वतिर लागेको बटुवाजस्तै भएका छन्, देशमा आमुल परिवर्तन ल्याउने भन्दै हिडेका दलहरु विदेशीको इशारामा नाचेका छन् ।’
दलहरु देशलाई लुटेर खाने साझा अभियानमा लागेको आरोप लगाए । ‘अब राष्ट्रवादीहरु राष्ट्र बचाउन लाग्नुपर्छ’, उनले भने, ‘फेरि देशलाई संकटमा लैजान खोज्नेहरुलाई रोक्नुपर्छ ।’ उनले भूपु सैनिकहरुले सिकेका युद्धकौशल, सीपलाई राष्ट्र निर्माणमा उपयोग गरिनुपर्ने बताए । सो अवसरमा राप्रपा चितवनका अध्यक्ष रुद्रप्रसाद ढकाल, उपाध्यक्ष जीवलाल पुरीलगायतले राष्ट्रवादीहरु एकजुट हुनुपर्नेमा जोड दिए ।
यसैबीच, राष्ट्रिय प्रजातान्त्रिक भूपु सैनिक संगठन चितवनको अध्यक्षमा भुवनराज देवकोटा चयन भएका छन् । देवकोटाको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन भएको राप्रपा भरतपुर महानगरका सचिव सुलभ सिग्देलले जानकारी दिए । उपाध्यक्षमा बलविक्रम थापा र धनबहादुर गुरुङ, सचिवमा रविन्द्र पाण्डे र हरिराम पण्डित चयन भएका छन् । कोषाध्यक्षमा वीरेन्द्र पाण्डे चयन भएका छन् ।

