चितवन, भदौ ८ : चितवनबाटै प्रतिनिधि सभाको चुनाव लड्ने घोषणा गरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलो पटक गृहजिल्ला चितवन आएका छन् ।
प्रचण्ड चितवन क्षेत्र नं ३ बाटै चुनाव लड्ने तयारीका साथ दुई मन्त्रीलाई लिएर चितवन आएका हुन् । गठबन्धन दल नेपाली कांग्रेस चितवनका नेताहरुले भने यस पटक चितवन छाड्न प्रचण्डलाई आग्रह गर्दै आएका छन् ।
चुनावको मुखमा जनतालाई आश्वासन दिने हिसाबले प्रचण्डले वनमन्त्री प्रदीप यादव र भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मत इस्तियाक राईलाई लिएर आएका हुन् ।
उनी चितवन आएलगत्तै आफ्नो निर्वाचन क्षेत्रअन्तर्गतको माडी जाँदै छन् ।
माडीको विकास निर्माणमा निकुञ्जले अवरोध गर्दै आएको छ । प्रचण्डले निकुञ्ज ऐन संशोधन गर्न नसकेको भन्दै माडीवासी प्रचण्डप्रति असन्तुष्ट छन् ।
माडीमा उनले पुलको उद्घाटनदेखि लिएर कार्यकर्तालाई प्रशिक्षण समेत दिँदै छन् ।
माडी नगरपालिकाको मेयर यस पटक नेकपा एमालेले जितेको छ ।
मेयर विपक्षी पार्टीको भएका कारण माडीलाई सुरक्षित बनाउन प्रचण्ड माडीमा केन्द्रित भएका हुन् ।
मन्त्रीसहित आएका प्रचण्डले माडीबासीलाई पुनः नयाँ आश्वासन दिने देखिन्छ ।

