नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीका गतिविधिले शंका उत्पन्न भएकाे बताएका छन्। पार्टी पुनर्गठन दिवसकाे अवसरमा उनले यस्ताे बताएका हुन्।
उनले भने, ‘राष्ट्रपतिको गतिविधिले शंका उत्पन्न भएकाे छ।’
हिजाे राष्ट्रपति भण्डारीले सार्वभौमसत्ताको पक्षमा आफू अडिग रहने र गहन राष्ट्रिय समस्या समाधानमा पछि नपर्ने प्रतिवद्धता व्यक्त गरेकी थिइन्। यही कुरालाई लिएर अध्यक्ष नेपालले यस्ताे बताएका हुन्।
शीतल निवासमा राष्ट्रपति भण्डारीकाे निम्तोमा उपस्थित प्रधानसेनापति प्रभुराम शर्मा, दुई पूर्व प्रधानसेनापति प्यारजंग थापा र पूर्णचन्दै थापासहित करिब ७० जना अवकास प्राप्त जर्नेलहरूसँगको अन्तरक्रिया गरेकी थिइन्।
अध्यक्ष नेपालले केपी ओलीकाे व्यक्तिवादी चरित्रको कारण नेपालमा जटिलता आएकाे पनि बताए।
‘केपी ओलीकाे व्यक्तिवादी चरित्रको कारण नेपालमा जटिलता आयो।इतिहासको जानकारी राखेर वर्तमानको गम्भीर समिक्षा गर्नुपर्छ। इमान्दार र कर्तव्यनिस्ठा नभएको व्यक्ति कम्युनिस्ट हुन सक्दैन। इतिहासदेखि नै गुट थियो भ्रम फैलियो। एमालेको अध्यक्ष ओली बनेपछि पार्टीमा समस्या आयो। नेकपा एकतापछि ओलीमा थप अहंकार आयो अनि नेकपा एस बन्यो।’
एकीकृत समाजवादीले निर्वाचन आयोगबाट दल दर्ता प्रमाणपत्र पाएको दिनको अवसरमा आज पार्टी पुनर्गठन दिवस मनाउँदैछ।
गत वर्ष नेकपा एमालेबाट विभाजन भइ माधवकुमार नेपालको नेतृत्वमा भदौ २ गते निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिएकोमा भदौ ९ गते सो पार्टीले दर्ता प्रमाणपत्र पाएको थियो।

