चितवन, भदौं ९ : नेपाल नागरिक उड्डयन प्राधिकरणले भरतपुर विमानस्थलमा नयाँ टर्मिनल बनाउन ठेक्का आह्वान गरेको छ ।
प्राधिकरणले क्षेत्रीय हब विमानस्थलका रूपमा रहेको भरतपुर विमानस्थलमा चालु आर्थिक वर्षभित्रै टर्मिनल भवन निर्माण सुरुवात गर्ने गरी प्रक्रिया थालेको हो ।
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार यो विमानस्थलमा टर्मिनल भवन निर्माण प्रक्रिया अघि बढाइएको हो । सोही प्रयोजनका लागि ठेक्का आह्वान गरेको हो । ती विमानस्थलमा ५० वर्षभन्दा बढी पुराना टर्मिनल भवन छन् । भवन जीर्ण बनेका तथा पछिल्लो समय जहाज समेत बढ्दा भीडभाड बढी हुने गरेको छ ।
पछिल्लो समय भरतपुरमा नारायणगढ–मुग्लिन सडक र नारायणगढ–बुटवल सडकको कारणले हवाइ यात्रुको चाप समेत बढेको छ ।
बहुवर्षीय कार्यक्रमअन्तर्गत भरतपुर विमानस्थलका टर्मिनल भवन निर्माणमा सरकारको सेयर लगानी रहने छ । टर्मिनल भवन बनाउन भरतपुरसहित विमानस्थल र नेपालगञ्जमामा करिब नौ अर्ब लगानी हुने प्राधिकरणले जनाएको छ ।
ती भवनमा अत्याधुनिक ‘कन्भेयर बेल्ट’ सहित हुनेछ । आन्तरिकमा पसल कबलसहितको एयर कण्डिसन, खुला र फराकिलो हुने गरी बनाइने छ । एक महिनाको सूचनापछि मूल्यांकन गरेर दुई महिनाभित्रै ‘अवार्ड’ हुनेछ ।
प्राधिकरणका अनुसार मुलुकमा हाल तीन अन्तर्राष्ट्रियसहित जम्मा ५३ विमानस्थल निर्माण भएका छन् । तीमध्ये अहिले ३३ विमानस्थल सञ्चालनमा रहेका छन् भने बाँकी २० विमानस्थल निर्माण भएर पनि सञ्चालन भएका छैनन् ।
हालसम्म ४० विमानस्थल कालोपत्र गरिएका छन् । दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छ ।
पोखरा क्षेत्रीय विमानस्थल आगामी सन् २०२३ जनवरी १ देखि सञ्चालनमा ल्याउने प्राधिकरणले जनाएको छ ।

