शारदानगर । भरतपुर महानगरपालिका–१९ मा सम्पन्न टोल विकास संस्थाहरुबीचको तीज गीत प्रतियोगितामा नवबुद्ध टोल विकास संस्था प्रथम भएको छ । वडास्तरीय महिला विकास समिति भरतपुर–१९ को आयोजनामा सम्पन्न प्रतियोगितामा थानेदार टोल विकास संस्था र न्यू बुद्ध टोल विकास संस्था क्रमशः दोस्रो र तेस्रो भएका छन् ।
भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै उनले महानगरका महिलाहरुलाई सीपमूलक र व्यावसायिक तालिममा समेत सहभागी हुन आग्रह गरेका थिए । उनले राष्ट्रिय बिमा संस्थानको सहकार्यमा छोरी बिमा कार्यक्रम सञ्चालन भएको बताए ।
वडाभित्र रहेका महिला दिदीबहिनीहरुलाई सशक्तीकरण गर्न, व्यक्तित्व विकासका साथै लुकेर बसेका प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ सो कार्यक्रम आयोजना गरिएको भरतपुर–१९ का वडा अध्यक्ष प्रकाश तामाङले बताए ।
वडास्तरीय महिला विकास समिति अध्यक्ष नीरा गुरूङको अध्यक्षतामा भएको कार्यक्रममा शारदानगर जेसीजकी अध्यक्ष मसिना गुरूङ, भूपू कल्याणकारी क्लब भरतपुर–१९ का अध्यक्ष हुतमान गुरूङ, श्री टासिलिङ बौद्ध गुम्बा समितिकी अध्यक्ष सन्तमाया गुरूङ, वडाभित्र रहेका टोल विकास संस्थाका अध्यक्षहरुका साथै वडाभित्रका महिलाहरुको सहभागिता थियो।
प्रतियोगितामा प्रथम हुने समूहले १० हजार र प्रमाणपत्र, दोस्रो हुने समूहले ७ हजार ५ सय र प्रमाणपत्र तथा तेस्रो हुने समूहले ५ हजार र प्रमाणपत्र प्राप्त गरेका छन् ।
सो प्रतियोगितामा वडाभित्रका ७ वटा टोल विकास संस्थाको सहभागिता थियो । प्रतियोगितामा निर्णायकको रुपमा एन्डिला रिजाल, सरस्वती सुवेदी, लीला गुरूङ र चन्दु गुरूङ रहेका थिए ।

