राष्ट्रपतिबाट सन्देशसहित फिर्ता नागरिकता सम्बन्धी विधेयक राष्ट्रियसभामा पेश भएपछि सभाकी सदस्य बिमला राईले असहमति जनाएकी छन् । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट जस्ताको तस्तै फिर्ता भएपछि समितिकी सदस्यसमेत रहेकी राईले नागरिकता लिँदा आमाले स्वघोषणा गर्नुपर्ने प्रावधानप्रति असहमति जनाएकी हुन् ।
संसद गठबन्धनका नेताको क्लब भयो, सभामुख क्लबका म्यानेजर : सांसद पौड्याल pic.twitter.com/oPgtUiFbzY
— Chitrawan Khabar (@chitrawankhabar) September 1, 2022
राष्ट्रिय सभाको बिहीबारको दोस्रो बैठकमा नागरिकता सम्बन्धी विधेयकको छलफलमा भाग लिँदै उनले राष्ट्रपतिले ऐतिहासिक सन्दर्भ केलाउँदै अध्ययन गरेर विधेयक फिर्ता पठाए पनि उक्त विधेयक प्रतिनिधिसभामा छलफल नभएर जस्ताको त्यस्तो पारित हुनु दुःखद भएको बताइन् ।
राष्ट्रपतिको सुझावलाई ग्रहण गर्दै विधेयकलाई संशोधन गर्दा गठबन्धन सरकार नढल्ने र छिमेकी मुलुक नरिसाउने टिप्पणी गरिन् । उनले भनिन्, ‘देशको राष्ट्र प्रमुखले औल्याएका सबै कुरा टोकरीमा फालेर जस्ताको तस्तै प्रतिनिधिसभाले पारित गर्नु दुःखद हो । यसलाई संशोधन गर्दैमा गठबन्धन पनि ढल्दैन थियो होला । छरछिमेकी पनि रिसाउँदैन थिए होला ।’
संसदमा प्रस्तुन हुनु अघि नै गठबन्धनका नेता बालुवाटार बसेर जस्ताको त्यस्तै पारित गर्ने निर्णयमा पुग्नुले संसद गठबन्धन दलको क्लव र सभामुख क्लवको म्यानेजर भएको तर्क गरिन् । उनले भनिन्, ‘विधेयक सदनमा टेबुल नै भएको छैन । तर, गठबन्धनका नेता बालुवाटारमा बसेर जस्ताको त्यस्तै विधेयक पास गर्ने निर्णय गरेर ठूलै घमण्ड गर्नुभयो । संसद त गठबन्धनका नेताको क्लव भयो । सभामुख क्लवका म्यानेजर हुनुभयो ।’
प्रतिनिधि सभामा गठबन्धन सरकारले अहंकार प्रस्तुत गरेर हुबहु पारित गरे पनि राष्ट्रिय सभाले भने आफ्नो गरिमा जोगाउँदै गठबन्धनका नेताको क्लव बन्न नदिइएको बताइन् । राष्ट्रिय सभाले पुर्नविचार हुनुपर्छ भनेर विधायन व्यवस्थापन समितिमा पठाएर सदनको मर्यादा जोगाए पनि समितिमा छलफल हुँदा फेरि गठबन्धनका नेता र सरकारले अहंकार प्रस्तुत गरेर बहुमतले जस्ताको त्यस्तै पारित गरेकोमा दुःख व्यक्त गरिन् ।
उनले भनिन्, ‘विधायन व्यवस्थापन समितिमा छलफल गर्दा सबैले भनाई राख्यौं । विधायन समितिलाई पनि खुकुलो बनाउ भनेर भन्यौं । त्यो पनि हुन सकेन । त्यो गर्न नसकेपछि विज्ञसँग छलफल गरौ भन्दा गर्न सकिदैन भनियो । गृहमन्त्रीलाई संशोधन गरिन्छ कि जस्ताको तस्तै पारित गरिन्छ भनेर सोध्यौं । गृहमन्त्रीले जस्ताको तस्तै पारित गर्नुपर्छ भन्नुभयो ।’
राष्ट्रपतिको सन्देशलाई समेत ध्यान नदिएर हुबहु पारित गर्न खोज्नु राष्ट्रपतिमाथि कै अपमान भएको राईको भनाई थियो । उनले भनिन्, ‘राष्ट्राध्यक्ष व्यक्ति होइन कुर्सी हो । त्यस्तो संस्थाले पुर्नविचार गर भनेर पठाइसकेपछि केही न केही पुनर्विचार गर्नुपथ्र्यो । त्यसले राष्ट्रध्यक्षमाथि अपमान भएको छ । यसमा पनि अहंकार र घमण्ड नै बोलेको छ । दलका नेताको घमण्डले गर्दा सांसद पनि घुन पिसिए जसरी पिसिएका छौँ । बालुवाटार भित्र भएको निर्णयले हामी सबैलाई बाँधेको छ । यसलाई सुधार गरेनौं भने हाम्रो संसदीय प्रणाली माओवादी जंगलमा पसेजस्तै हुन्छ ।’
आफू नागरिकता विधेयक पारित हुनुहुँदैन भन्ने पक्षमा नभएको स्पष्ट पार्दै राईले विभेदरहित र विसंगतीरहित नागरिकता विधेयक बनाउनुपर्ने पक्षमा रहेको बताइन् । उनले नागरिकतामा आमाको मात्र पहिचानबाट मात्र दिइने नागरिकतामा स्वघोषणा राखिनुपर्ने व्यवस्था संविधानविरोधी र लैंगिक विरोधी भएको बताइन् ।
उनले भनिन्, ‘मैले समितिमा ३ पटक बोलेर पनि समितिको चित्त बुझाउन नसकेको विषय स्वघोषणा हो । समितिमा ४ वर्षे कार्यकालमा पहिलो पटक फरकमत दर्ज गर्नुपरेको छ । स्वघोषणाको प्रवधान हटाइनिपर्छ भनेर फरक मत राखेको हो । महिलाको आत्मसम्मान, मर्यादा र प्रजनन स्वास्थ्यको अधिकार अनुसार सक्नुहुन्छ विधेयकमा संशोधन गरेर देखाउनुस् स्वघोषणा हटाउने कुरा । सम्पूर्ण महिलाको तर्फबाट मेरो अनुरोध छ । यसमा विचार गरियोस् । यो विषयलाई सत्तापक्ष र प्रतिपक्ष नसोचेर सुधार गरियोस् ।’
मंगलबार विधायन व्यवस्थापन समितिले नागरिकतासम्बन्धी विधेयक बहुमतले पारित गर्दा समितिकी सदस्यसमेत रहेकी राष्ट्रियसभा सदस्य राईले लिखित रुपमा नै फरकमत राखेकी थिइन् ।



