काठमाडौं – अभिनेत्री एवं राप्रपा नेतृ रेखा थापा मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा चुनावमा उम्मेदवार सिफारिस भएकी छन् । उनी आज (मंगलबार) बिहानैदेखि गृहजिल्लामा राप्रपाको चुनावी सभामा सक्रिय छिन् ।
राप्रपाले उनको नाम मोरङ क्षेत्र नम्बर ३ बाट सिफारिस गरेको छ । रेखाको घर सुन्दरहरैंचा मोरङ क्षेत्र नम्बर ३ मा पर्छ । क्षेत्र नम्बर ६ मा पनि उनी उम्मेदवार बन्ने चर्चा छ । यद्यपि उनी उम्मेदवार बन्ने निर्वाचन क्षेत्रको टुंगो लागिसकेको छैन । नेकपा एमालेसँग तालमेल भए मात्रै रेखा थापा उम्मेदवार बन्ने उनी निकटहरु बताउँछन् ।
मोरङ क्षेत्र नम्बर ३ मा नेकपा एमालेको संगठन बलियो छ । स्थानीय तह निर्वाचनमा क्षेत्र नम्बर ३ मा पर्ने चारवटा पालिकाको प्रमुख एमालेले जितेको छ । सो क्षेत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र भानुभक्त ढकाल उम्मेदवार बन्ने तयारीमा छन् ।

