चितवन : भरतपुरको पटिहानीमा सञ्चालनको तयारीमा रहेको सोल्टी वेस्ट इन्ड रिसोर्टले मापदण्ड बिपरित संरचना निर्माण गरेको पाईएको छ । मध्यवर्ती क्षेत्रमा उद्योग स्थापना सम्बन्धि मापदण्ड बिपरित होटलका संरचना निर्माण भएका हुन ।
मापदण्डमा मध्यबर्ती क्षेत्रमा निर्माण हुने होटल दुई तला भन्दा अग्लो वनाउन पाईदैन । बातावरण सुहाउँदो हुनु पर्छ । यो होटल तीन तले कंक्रिटको रहेको छ । रिभर साइड रोयल गार्डेन रिसोर्ट प्रा. ली.ले यो होटल व्यवस्थापनको जिम्मा सोल्टी समुहलाई दिएको छ ।
रिसोर्टका प्रबन्ध निर्देशक ऋषि न्यौपानेका अनुसार होटल रु १ अर्बको लगानीमा निर्माण गरिएको हो । भरतपुर महानगरपालिका वडा नम्बर २२ स्थित राप्ती किनारमा होटल निर्माण गरिएको छ । न्यौपानेले बातावरणीय प्रभाव मूल्याङ्कन गरेर होटल निर्माण गरिएको दाबी गर्नुभयो ।
मध्यवर्ती क्षेत्रमा पर्यावरणलाई ध्यानदिएर संरचना वनाउनु पर्ने संरक्षणकर्मीहरु बताउँछन् । वडा अध्यक्ष बिष्णु महतोले निर्माणकै क्रममा भरतपुर महानगरपालिकामा छलफल हुँदा आँफुले यसखालको होटल त्यो ठाउँमा बनाउन नहुने तर्क प्रस्तुत गरेको बताउनुभयो । उहाँले भन्नुभयो “मैले त्यती बेलानै माटो सुहाँउँदो होटल बनाउनु पर्छ भनेको थिए ।” दोस्रो कार्यकाल पनि वडा अध्यक्ष हुनु भएका महतोले निकुञ्जको छेउमा बन्ने होटल मौलिकता झल्कने भिल्लाको स्वरुपमा बनाउन तत्कालिन अबस्थामा सुझाब दिएको बताउनुभयो ।
जिल्लाका लव्धप्रतिष्ठित व्यवसायीक व्यक्तित्वहरुको लगानी रहेको होटलको नक्सा पास गर्दा आफुले परिवर्तन गर्न आग्रह गरेको भए पनि सञ्चालकहरुले अटेर गरेको उहाँको दाबी छ । पछिल्लो समय वडाअध्यक्ष महतो पनि होटलको शेयरधनी हुनु भएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले मध्यवर्तीमा बनेका होटल संरचनाहरु मापदण्ड बिपरित बनाउन नहुने बताउनुभयो । उहाँले भन्नुभयो “मापदण्ड बिपरित भएमा निकुञ्जले कारवाही प्रकृया अघि वढाउँछ ।” निकुञ्जमा आश्रीत भएर गरिने व्यवसायीक क्षेत्रले मापदण्ड पूर्णरुपमा पालना गर्नुपर्ने उहाँको भनाई छ ।
मापदण्ड बने पछि यो संगै अन्य होटलहरुले पनि ऐन कानुनको उलंघन गर्दै संरचना निर्माण गरेका छन् । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले मापदण्ड मिचिएको देखिए पछि आबश्यक अध्ययन गर्ने तयारी भईरहेको बताउनुभयो ।
निकुञ्जका पूर्ब प्रमुख संरक्षण अधिकृत अणनाथ वरालले आफ्नो पालामा बातावरण प्रभाव मुल्याङ्कनका लागि सो होटलका संञ्चालकले अनुमती लिन आएको भए पनि मापदण्ड बिपरित भएकाले आँफुले नदीएको बताउनुभयो । आँफु बर्दीया राष्ट्रिय निकुञ्जमा हुँदा एक तला भत्काउन लगाएको भन्दै उहाँले निकुञ्जले मापदण्ड पालना नगर्नेलाई कारवाही गर्न सक्ने बताउनुभयो । पाँचतारे सुबिधा दिनेगरि यो रिसोर्ट नेपालका २३ जना व्यवसायीको लगानीमा निर्माण गरिएको हो ।

