नेपालले एकदिवसीय अभ्यासअन्तर्गत पहिलो खेलमा केन्यालाई सात विकेटले पराजित गरेको छ । आशिफ शेखको शतकीय पारीमा नेपालले केन्यालाई सहजै पराजित गरेको हो ।
नैरोवीमा केन्याले दिएको २१९ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले ४७.२ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य भेट्टायो । नेपालका लागि ओपनर आशिफ शेख र अर्जुन साउदले उत्कृष्ट ब्याटिङ गरे । आशिफले १२० बलमा १२ चौका र दुई छक्कासहित १०८ रन बनाए ।
पहिलो विकेटका लागि आशिफ र अर्जुनले १४१ रनको साझेदारी गरे । अर्जुन ६१ रनमा आउट भए । त्यस्तै, ज्ञानेन्द्र मल्लले २३ रन जोडे ।
यसअघि नैरोवीमा टस जितेर पहिलो ब्याटिङ गरेको केन्याले ४८.१ ओभरमा सबै विकेटको क्षतिमा २१८ रन बनाए थियो । केन्याका रकिप पटेलले ६७, कोलिन्स ओबुयाले ६२, इर्फान करिमले ३० रन बनाए ।
नेपालका सोमपाल कामी र करण केसीले समान ३–३ विकेट लिए । आदिल अन्सारी र पवन सरार्फले समान १–१ विकेट लिए ।
एकदिवसीय अभ्यासमा नेपालले केन्यासँग दोस्रो खेल १८ र अन्तिम खेल २० गते खेल्नेछ ।

