पोखरामा अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि प्रदेश सरकारले बिस्तृत परियोजना विबरण डीपीआर तयार पारेको छ ।
पोखरा रंगशाला भित्र रहेको अहिलेको क्रिकेट मैदानलाई अन्तराष्ट्रिय स्तरको बनाउनका लागि एक अर्व ६० करोड रुपैयाँ लाग्ने अनुमान छ । प्रदेश सरकार गठन भएको तीन बर्षपछि एक सय ७४ रोपनी जग्गा प्रदेश सरकारले भोगाधिकार प्राप्त गरेपछि रंगशाला निर्माणका लागि पहल सुरु भएको हो ।
विआरएस सोलुसन इन्जिनियरिङ्गले करिव १६ लाखको लागतमा निर्माण गरेको डिपिआरमा रंगशालाको क्षमता भने १८ हजार दर्शक क्षमताको हुनेछ । यसअघि यो मैदानलाई सरकारले नै बनाउने र त्यसमा क्यानले पनि सहयोग गर्ने बताएको थियो । अहिलेपनि पोखरामा क्रिकेट मैदान निर्माणका लागि केन्द्रिय सरकारबाट पनि बर्षेनी बजेट जाने गरेको छ ।
तर मैदानमा कुनै प्रगतिको काम भने भएको छैन । १८ हजार दर्शक क्षमताको रंगशाला निर्माणको योजनाका साथ १६ लाख रुपैयाँ खर्च गरेर डीपीआर तयार पारिएको हो । यो आर्थिक बर्षमा प्रदेश सरकारले रंगशालाका लागि दुई करोड रुपैयाँ छुट्टयाएको छ । तर त्यो रकम अब जग्गा संरक्षणका लागि खर्च गरिने जनाएको छ । बहुबर्षिय योजना अन्तर्गत निर्माण हुने रंगशालाको निर्माण कम्पनीलाई टेन्डरबाट फाइनल गरिनेछ । यदि बजेट पर्याप्त भयो भने रंगशाला तीन देखि चार बर्ष लाग्ने योजना हरेको छ ।
नेपालमा पुर्वको झापा देखि पश्चिमको बैतडीसम्म क्रिकेट मैदान निर्माणको योजना रहेको छ । करिव दुई दशकदेखि मुलपानीमा मैदान लथालिंग छ भने भैरहवा, कोहलपुर, विरगंज, मोरङ, धनगढी, महेन्द्रनगर जस्ता ठाँउमा पनि क्रिकेट रंगशाला बनाउने भनेर काम सुरु भएपनि अहिलेसम्म कुनै गतिलो काम भएको छैन ।