भरतपुर, २३ भदौ : नेपाली कांग्रेस चितवनले पार्टी निर्णय विपरित चुनावी उम्मेदवारहरु नउठाउने जनाएको छ । भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस चितवनका सभापति राजेश्वर खनालले गठबन्धनको कार्यदल र पार्टीको निर्णय स्वीकारेर चितवनमा गठबन्धनकै उम्मेदवार जिताउन लागिपर्ने बताउनुभएको छ । “संगठनको अनुशासित कार्यकर्ता हौँ, जे निर्णय आउँछ पालना गर्न तयार छौँ”, उहाँले भन्नुभयो, “चितवनका संघीय ३ क्षेत्र र प्रदेशका ६ क्षेत्रमै गठबन्धन उम्मेदवार जिताउन लाग्नेछौँ ।”
कांग्रेस चितवनले चितवनमा २ संघीय क्षेत्र र ४ प्रदेश क्षेत्र पाउनुपर्ने अडान शिर्ष नेतृत्वलाई राख्दै आएको बताउनुभयो । मंसीर ४ गते संघीय र प्रदेश चुनाव हुदैछ । “नामावली संकलन गरि काठ्माण्डौ पठाएका छौँ, उम्मेदवारहरु हेरफर गर्ने अधिकार केन्द्रीय कार्यसमितिलाई छ”, उहाँले भन्नुभयो, “चितवनमा कांग्रेसको बलियो संगठन छ, सोही अनुसार सिट बाँडफाट हुने विश्वास छ ।”
कांग्रेस चितवनका निर्वतमान सभापति जीतनारायण श्रेष्ठले गठबन्धनलाई जिताउन कांग्रेसले उचित सिटहरु पाउनुपर्ने अडान राख्नुभयो । “प्रचण्डको रोजाईमा २ परेमा १ र ३ कांग्रेसले पाउनैपर्छ”, उहाँले भन्नुभयो, “मेरो क्षेत्र छोड्दिन, अर्कैको क्षेत्र परोस भनेर गठबन्धन चल्दैन ।” उहाँले व्यक्तिगत हितभन्दा पनि गठबन्धनको हितमा कांग्रेस प्रतिवद्ध रहेको बताउनुभयो । उहाँ सहितका १० जना नेताहरुको नाम चितवन क्षेत्र नम्बर २ बाट सिफारिस भएको छ । पूर्वसभापति रामकृष्ण घिमिरेले पार्टीको निर्णय जे हुन्छ स्वीकार्न तयार रहेको बताउनुभयो । उहाँले पार्टीको सदस्यता लिएपछि नैतिकता र अनुशासनमा रहनुपर्ने बताउनुभयो । उहाँ सहितका ७ जना नेताको नाम चितवन ३ नम्बर क्षेत्रबाट सिफारिस भएको छ ।
भूईकटहरको जुस कांग्रेसकै कचौरमा आउँछः घिमिरे
चितवन क्षेत्र नम्बर ३ माओवादी केन्द्र अध्यक्ष प्रचण्डले पाउने सम्भावना बलियो भएपछि कांग्रेसभित्र असन्तुष्टी बढ्दै गएको छ । महानगरमा पनि माओवादी नेतृत्वलाई सघाउनु परेकाले फेरी ३ नम्बर क्षेत्र पनि दिन नसकिने अडानमा कांग्रेसभित्र असन्तुष्टी बढ्दो छ । स्थानीय तहको चुनावमा कांग्रेसबाट असुन्तष्ट बनेको समूहले भूईकटहर चुनाव चिन्हमा १४ हजार ७ सय २८ मत ल्याएको थियो । सो मतलाई प्रतिपक्ष दल एमालेले आफ्नो बनाउने रणनीति बनाइरहेको छ ।
कांग्रेसका केन्द्रीय सदस्य तथा केन्द्री समितिद्वारा चितवनमा खटिएका नेता श्यामकुमार घिमिरेले पार्टीको गठबन्धनको निर्णय सबैले मान्नुपर्ने बताउनुभयो । उहाँले स्थानीय तहको चुनावमा भूईकटहरमा खसेको मत यसपाली कांग्रेसकै पक्षमा हुने बताउनुभयो । “त्यो बेला परिस्थिति, आवेग र परिवेश र व्यक्तित्वका आधारमा ती भोट गए होलान्”, उहाँले भन्नुभयो, “यसपाली भूईकटहरको जुस कांग्रेसकै कचौरमा आउँछ ।” उहाँले हरेक निर्वाचनमा आएका मतहरु हेरफेर हुनसक्ने बताउनुभयो । स्थानीय तहको चुनावमा असन्तुष्ट बनेका नेता, कार्यकर्ताहरुसँग संवाद भैरहेकाले यसपाली कुनै समस्या नरहने बताउनुभयो ।
प्रधानमन्त्री देउवा चितवन आउने
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भोलि (शुक्रबार) चितवन आउनुहुने भएको छ । जनताको साथमा कांग्रेस अभियानको पहिलो चरणको समापन तथा विपि कोइरालाको १ सय ९ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागि हुन देउवा चितवन आउन लाग्नुभएको हो । कांग्रेस चितवनका सभापति राजेश्वर खनालले क्यान्सर सभाहलमा विहान ११ बजे कार्यक्रम हुने बताउनुभयो । सो अवसरमा १ सय ५० बढी कांग्रेसका पुराना नेताहरुलाई सम्मान समेत गरिनेछ ।

