नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइरालाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन्।
नेपाली कांग्रेस नवलपुरले शुक्रबार आयोजना गरेको जनताका साथमा कांग्रेस अभियानको समापन तथा बीपी जयन्ती कार्यक्रममा सहभागी भएका कोइरालाले सो धारणा व्यक्त गरेका हुन्। कोइरालाले भने, ‘नेपाली कांग्रेस एक्लै चुनावमा जाँदा पनि बहुमत नजिक पुग्छ तर अहिलेको राष्ट्रिय आवश्यकता भनेको गठबन्धन हो।’
कोइरालाले आफू पनि गठबन्धन गर्न हुँदैन भन्ने पक्षमा भएको भए पनि अहिलेको आवश्यकताले गठबन्धन गरेर निर्वाचनमा जानुपरेको बताए।
फरक प्रसंगमा कोइरालाले अहिले नेपालमा मात्रै नभएर अन्तर्राष्ट्रियरुपमा बीपीले स्थापना गर्नुभएको प्रजातान्त्रिक समाजवादको आवश्यकता बढ्दै गएको बताए। आगामी निर्वाचनमा कांग्रेसलाई विजयी गराएर देशलाई प्रजातान्त्रिक समाजवादको बाटोमा हिँडाउनसमेत कोइरालाले अपिल गरे।

