वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आज प्रधानमन्त्री शेरबहादुर देउवालाई स्वागत गरिएको छ । अस्पताल पुग्नु भएका प्रधानमन्त्री देउवा समक्ष क्यान्सर प्रतिष्ठान र पेट स्क्यान सेन्टर स्थापनाको माग गरिएको हो ।
सो अवसरमा अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले अस्पतालमा क्यान्सर प्रतिष्ठान बनाउन र पेट स्क्यान सेन्टर स्थापना गर्न माग गर्नुभयो । उहाँले क्यान्सर उपचारमा आवश्यक जनशक्ति उत्पादन गर्न स्नातकोत्तरसम्मको अध्ययन अध्यापनका लागि क्यान्सर प्रतिष्ठान वा क्यान्सर इन्स्टिच्यूट बनाउन माग गर्नुभएको हो । त्यसैगरी क्यान्सर रोग पहिचान र बिरामीको अवस्थाबारे जानकारी लिन महत्वपूर्ण मानिने पेट स्क्यान मेसिन अस्पतालमा अति आवश्यक रहेको प्रधानमन्त्री समक्ष उहाँले बताउनुभयो ।
गृहमन्त्री बालकृष्ण खाँड र राज्यमन्त्री उमेश श्रेष्ठ सहित अस्पताल पुग्नु भएका प्रधानमन्त्री देउवा अस्पतालका मागप्रति सकारात्मक रहेको जानकारी आएको छ।

