एसिया कप २०२२, सुपर ४ को अन्तिम प्रतिस्पर्धामा श्रीलङ्काले पाकिस्तानलाई पाँच विकेटले पराजित गरेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको खेलमा पाकिस्तानले श्रीलङ्कालाई १ सय २२ रनको लक्ष्य दिएको थियो । श्रीलङ्काले १७ ओभरमै लक्ष्य भेट्टायो ।
अब यी दुई टोलीबीच भोलि आइतबार उपाधिका लागि भिडन्त हुने छ ।
लक्ष्य पछ्याएको श्रीलङ्काको सुरुवाती खेल खासै सन्तोषजनक रहेन । उसले २ रनको योगमै दुई खेलाडी गुमाएको थियो । सबैभन्दा पहिले कुसल मेन्डिस (०) लाई मोहम्मद हसनैनले आउट गरिदिए । फेरि दनुष्का गुणातिलक पनि खातै नखोली हारिस रऊफको सिकार बने ।
ओपनर पथुम निसन्का र भानुका राजपक्षेले ५१ रनको पार्टनरसिप गरी श्रीलङ्कालाई अघि बढाए । उस्मान कादिरको बलमा आउट हुनुअघि राजपक्षेले दुई छक्काको मद्दतले २४ रन बनाए । ४८ बलको सामना गरेका पथुम निसन्काले अविजित ५५ रन बनाए । उनले पाँच चौका र एक छक्का मारे ।
यस्तै दासुन शनाकाले २१ रन बनाए । पाकिस्तानका तर्फबाट हसनैन र रऊफले दुई/दुई विकेट लिए ।
टस हारेर पहिले ब्याटिङमा उत्रेको पाकिस्तानी टिमको सुरुवात पनि खासै राम्रो थिएन । चौथो ओभरमै उसले मोहम्मद रिजवान (१४) को विकेट गुमाएको थियो । रिजवानलाई डेब्यु प्रतिस्पर्धा खेलिरहेका प्रमोद मदुसानले विकेटकिपर कुसाल मेन्डिसको हातमार्फत क्याच आउट गराए ।
कप्तान बाबर आजम भने लयमै देखिएका थिए । बाबरले लसान मदुशन्काको बलमा चौका हानेर खाता खोले भने मदुसानबाट पनि चौका जोडे ।
पाकिस्तानले पावर प्लेमा एक विकेटमा ४९ रन बनायो । श्रीलङ्काले यसपछि कसिलो बलिङ गरी पाकिस्तानी टिममाथि दबाब बढायो । परिणामस्वरूप १०औँ ओभरमा फखर जमानलाई १३ रनको निजी स्कोरमा जमिका करुणारत्नेले क्याच गरिदिए ।
अर्को ओभरमा हसारङ्गाले बाबर आजमलाई बोल्ड गरी पाकिस्तानको स्कोर तीन विकेटमा ६८ रन पारिदिए । बाबरले दुई चौकाको मद्दतले ३० रन बनाए ।

