नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले धोबिखोला कोरिडोरको कपन–बूढानीलकण्ठ डुबान नियन्त्रणको कामका लागि छुट्टै आयोजना बनाउन सरकारसँग माग गरेका छन् । आज प्रस्तावित धोबिखोला कोरिडोरको कपन–बूढानीलकण्ठ डुबान नियन्त्रण आयोजना सम्बन्धित अन्तर्क्रियालाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो माग गरेका हुन् ।
उनले धोबिखोला कोरिडोरको कपन–बूढानीलकण्ठ डुबान नियन्त्रण गर्न अहिले विभिन्न खण्ड–खण्डमा स्थानीय नगपालिका, प्रदेश सरकार र प्राधिकरणले समेत काम गरेको भन्दै अब एउटै आयोजनामार्फत काम गर्नुपर्ने बताए ।
थापाले सबै योजनाहरूलाई एउटै आयोजनामार्फत काम गरेर कपन–बूढानीलकण्ठ डुबान नियन्त्रणको काम गर्नुपर्ने बताए । उनले कोरिडोर क्षेत्रमा भएका खण्ड–खण्डका कामहरू सबै अब बन्ने आयोजना अन्तर्गत ल्याउन पनि माग गरे । उनले आफू यही क्षेत्रको जनप्रतिनिधि भएकाले कपन खहरेमा बाढी आउनासाथ सबैभन्दा धेरै गाली खाने गरेको बताए । थापाले अहिले कोरिडोर क्षेत्रमा २ आना र ५ आना जग्गामा सयौँ घरहरू बनेकाले बनेका घरहरूको समेत संरक्षण गर्नेगरी मास्टर प्लान बनाउन सुझाव दिए ।
महामन्त्री थापाले कोरिडोर क्षेत्रमा बनेका घरहरू वैधानक रहेको र वर्षैपिच्छे राज्यलाई कर बुझाएकाले खोलालाई पहिलेको अवस्थामा ल्याउने गरी मात्रै नभएर घरहरूको समेत संरक्षण कसरी गर्ने भन्ने बारेमा सोच्नुपर्ने बताए ।

