नेपाली कांग्रेसले अघिल्लो आमनिर्वाचनमा प्रदेश तथा प्रतिनिधिसभामा समानुपातिक उम्मेदवारका रुपमा विजय प्राप्त गरेका सांसदहरुलाई आगामी प्रदेश तथा प्रतिनिधिसभामा उम्मेदवार बन्न नपाउने मापदण्ड बनाएको छ।
यद्यपि अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ उम्मेदवार बनेका तर निर्वाचित नभएकाहरु भने समानुपातिकमा उम्मेदवार बन्न सक्नेछन्।
यद्यपि समानुपातिकतर्फ विजयी उम्मेदवारहरुले प्रत्यक्षतर्फ भने उम्मेदवारी दिन पाउनेछन्।
बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको केन्द्रीय संसदीय समितिको बैठकले उम्मेदवार चयन गर्ने मापदण्ड तय गरेको हो।
गठबन्धनमा सिट बाँडफाँटको छलफल चलिरहे पनि समानुपातिकतर्फ बन्दसूची बुझाउने म्याद नजिकिँदा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार अपराह्न संसदीय समितिको बैठक बोलाएका थिए।
प्रतिनिधिसभामा समानुपातिकबाट सांसद भएको व्यक्ति अब प्रदेशमा गएर पनि फेरि समानुपातिकबाटै सांसद बन्न नपाउने र प्रदेशमा भएको व्यक्ति प्रतिनिधिसभामा आएरसमेत बन्न नपाउने गरी मापदण्ड निर्धारण गरिएको हो।
त्यस्तै, उच्च नैतिकता, योग्यता, क्षमता भएको र उमेरको सन्तुलनलाई आधार मानेर पार्टीलाई लोकप्रिय मत थप्न सक्ने व्यक्तिलाई समानुपातिकतर्फ उम्मेदवार बनाउने मापदण्ड बनाइएको छ।
संसदीय समिति २५ सदस्यीय हुने व्यवस्था छ। तर, सभापति देउवाले समितिलाई पूर्णता दिन सकेका छैनन्।

