काठमाडौं महानगरले फुटपाथमा व्यापार, व्यवसाय निषेध गरेपछि अत्तालिएका व्यापारीले महानगरको मुख्यालय घेराउ गरेका छन्। उनीहरूले फुटपाथमा व्यापार, व्यवसाय निर्वाध गर्न पाउनुपर्ने एकसूत्रीय माग राखेर महानगर घेराउ गरेका हुन्।
एमाले निकट जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघको अगुवाइमा फुटपाथ व्यवसायीले महानगर घेराउ गरेका हुन् । फुटपाथ एवं साना व्यवसायीलाई विकल्प नदिई काठमाडौं महानगरले हटाएको भन्दै विरोधमा उत्रिएको उनीहरूले दाबी गरेका छन्।
फुटपाथ कब्जा गरेर व्यवसाय गर्दै आएकाहरू पार्टीको ओत लागेर सुन्धारामा भेला भई भद्रकाली हुँदै महानगर कार्यालय पुगेका छन्। जीविकोपार्जनका लागि फुटपाथमा व्यवसाय गरिरहेकाहरूलाई महानगरले विस्थापन गर्न खोजेको उनीहरूको आरोप छ।

