अवैध सम्बन्ध लुकाउन आफ्नै भाई बुहारीलाई हत्या गरेको आरोपमा धनुषा प्रहरीले जेठाजुसहित ३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले शुक्रवार दिउँसो पत्रकार सम्मेलन गरेर जिल्लाको शहीदनगर नगपालिका –३ यदुकोह बस्ने अरुण दासकी २८ वर्षीया श्रीमती बबितियादेवि दासको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका उनका जेठाजु विरेन्द्र दाससहित ३ जनालाई प्रहरी सार्वजनिक गरेको छ ।
बबितियाका श्रीमान वैदेशिक रोजगारमा मलेसियामा रहेको अवस्थामा जेठाजु दासले आफ्नै भाइ बुहारी बबितियासँग अनैतिक सम्बन्ध बनाएको प्रहरीको दाबी छ । इज्जत जाने डरले दासले आफ्ना सालो शहीदनगर नगरपालिका–७ बस्ने १९ वर्षीय उमेश दास र नातामा काका पर्ने १९ वर्षीय सत्रुधन दासलाई प्रयोग गरी बबितियाको हत्या गराएको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए ।
बबितियालाई घरमै सुतिरहेको अवस्थामा तीनै जनाले मिलेर घाँटी कसेर मारेका देखिएको उनले बताए ।
त्यसैगरी, मादक पर्दाथ सेवन गरी आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले धनुषा सबैला नगरपालिका– ५ मखनाहा बस्ने २५ वर्षीय मनोज मण्डललाई प्रहरीले पक्राउ गरी शुक्रवार सार्वजनिक गरेको छ ।

