चितवनमा नक्कली सुनको बिस्कुट देखाई सक्कली सुन ठगी गर्ने एक पक्राउ परेका छन् ।
प्रहरीको विशेष टोलीले भदौ ३१ गते विहान ११ः३० बजेको समयमा भरतपुर महानगरपालिका–१० वीरेन्द्र क्याम्पस चोकस्थित सडक छेउमा उभिरहेको अवस्थामा सिन्धुलीको दुधौली नगरपालिका वडा नं १२ (साविक जिनाखु गाविस) वडा नं २० घर भएको ३९ वर्षी बीरबहादुर घिसिङलाई पक्राउ गरेको हो ।
घिसिङलाई नक्कली सुन जस्तो देखिने धातुको पदार्थ, बाहिर एक हजारको नोट र भित्र रु,१० रुपैयाँको नोट राखी एक बन्डल बनाएको रकम सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई आइतबार चितवन जिल्ला अदालतबाट ठगी उद्योगमा म्याद थप गरि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
नारायणगढ र भरतपुर बजार क्षेत्रमा महिला वर्गलाई लक्षित गरी नक्कली सुनको बिस्कुट देखाई उनीहरुले लगाएको सक्कली सुनसंग साट्ने गरेको गुनासो आएपछि प्रहरीले खोजी अभियान थालेको थियो । ‘तपाईले लगाएको कानको मुन्द्रा हामीलाई दिनुहोस्, तपाईलाई हामी सुनको बिस्कुट र नगद रकम दिन्छु’ भन्दै ललाई फकाई महिलाहरुले लगाएको सक्कली सुनका गरगहनाहरु झुक्काई लाने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

