राप्ती । राप्ती नगरपालिका–८, बडहरा गणेश मन्दिरका शिवराज धरेलले यसपटक १६ कट्ठा जग्गामा धानखेती गरेका छन् । बाला लाग्ने बेला भइसकेको छ । तर, सोमबार एकाएक धानमा रोग देखिएपछि धरेल चिन्तित छन् ।
उनका सबै धानमा रोग देखिइसकेको छ । मंगलबारसम्म करिब २४ घन्टाकै फरकमा उनको खेतका धान उत्पादन हुनै नसक्ने गरी सखाप भइसकेको थियो । सोमबार रोग देखिएपछि प्राविधिकलाई खबर गरेँ’, किसान धरेलले भने, ‘मंगलबारसम्म सबैतिर रोग फैलियो, बाला लाग्ने अवस्थाको धान सखाप पारिदियो ।’
धरेलको मात्र नभई त्यहाँका धेरै किसानको धान यसरी नै सखाप भएको छ । धरेलका अनुसार झन्डै २० बिघा जग्गामा लगाइएको धानमा रोग लागेर उत्पादन नै नहुने अवस्थामा पुगेको छ । धरेलले आफ्नो १० कट्ठा र बाँकी ६ कट्ठा ठेक्का लिएर खेती गर्दै आएका छन् । उनले कट्ठाको वार्षिक २ हजार पाँच सय रूपैयाँ तिर्दै आएका छन् । जोताइदेखि हालसम्म उनले ४० हजार रूपैयाँ खर्च लागेको बताए । आफ्नो आम्दानीको स्रोत खेतीपाती भएको सुनाउँदै किसान धरेलले भने, ‘सुरूदेखिको खर्च जोड्दा झन्डै ४० हजार खर्च भयो, धानै उत्पादन नहुने भएपछि चिन्ता थपिएको छ ।’
सोमबार बिहान खेतमा जाँदा रोग देखिएपछि दिउँसो नगरपालिका कृषि शाखा र सहकारीमा फोन गरेर धरेलले जानकारी गराए । त्यहाँबाट जिल्लामा फोन गराएर रोगका बारे जानकारी गराइयो । मंगलबार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, नगरपालिका र भण्डारा सहकारीबाट एक टिम बडहरा आइपुग्यो । टोलीले रोग लागेका धानखेतीको अवलोकन ग¥यो । त्यस क्रममा धानमा ब्याक्टेरिया पेनिकल ब्लाइट र नेक ब्लास्ट रोग लागेको प्राविधिकले जानकारी गराए ।
धरेलसहित अन्य किसानको धानमा ब्याक्टेरिया पेनिकल ब्लाइट र नेक ब्लास्ट रोग लागेको राप्ती नगरपालिका कृषि अधिकृत रक्षा उप्रेतीले जानकारी दिइन् । त्यहाँका किसानले चन्दन, गोरखनाथ धान लगाएका छन् । जुन धानको बीउलाई अघिल्लो वर्ष नै नगरपालिकाले उपयुक्त नभएको जानकारी गराइसकेको थियो । ‘धानखेती गर्दा बीउदेखि नै उपचार पद्धति अपाउन पथ्र्यो, त्यतिविधि ती बीउमा थिएन’, कृषि अधिकृत उप्रेतीले भनिन्, ‘रोगले सबैतिर आक्रमण गरिसकेकाले अब उत्पादन हुने अवस्था छैन ।’ आफूहरुले थप हुन नसक्ने किसानहरुलाई जानकारी गराएको उनले बताइन् । ‘बीउ राख्दादेखि नै उपचार पद्धति अपाउनुपर्छ’, कृषि अधिकृत उप्रेतीले भनिन्, ‘पछि रोग देखिए उपचारले छुन गाह्रो हुन्छ ।’
रोग देखिएपछि किसानहरुमा भने अब के गर्ने अन्योल छ । ‘घरको आम्दानी केही छैन’, किसान धरेलले भने, ‘आम्दानीकै बाटो बन्द भएपछि अब के गर्ने भन्ने अन्योलमा छु ।’ बडहराका धरेलसहित अशोक सेढाईं, डकराज डल्लाकोटी, उमाकान्त डल्लाकोटी, पवित्रा पाठकलगायत किसानले लगाएको सबै धान सखाप भएको छ । सो रोग अन्यत्र पनि फैलँदै गएको किसानहरुले बताएका छन् ।
Source : Echitwanpost

