नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा भूराजनीतिक संकट निम्तिएको बताएका छन्।
नेपाल समाजवादी पार्टीले चाडबाडको अवसर पारेर शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। अध्यक्ष भट्टराईले नेपालको भूराजनीतिक संकटमा अमेरिका, चीन र भारतबीच तानातान भइरहेको बताए।
उनले भूराजनीतिक संकटका कारण देशमा संघीयतालाई कमजोर पार्ने, अर्थतन्त्रलाई कमजोर पार्ने र अराजकता निम्त्याउने प्रयास भइरहेको बताए। अध्यक्ष भट्टराईले संकटलाई ध्यान दिँदै देशलाई नयाँ दिशा दिलाउनको निम्ति अहिलेदेखि नै तयारी गर्न आवश्यक रहेको उल्लेख गरे। उनले केही समययता नेपालमा राजनीतिको गम्भीर ढंगले स्खलन भएको दाबी गरे।
अध्यक्ष भट्टराईले भने, ‘यो निर्वाचनपछि नयाँ राजनीतिक ध्रुवीकरण हुँदै अग्रगमनतर्फको दिशामा अघि बढ्नेछ। किनकि पुराना शक्तिहरुले यो देशलाई झन बर्बादीतिर लिएर जाँदैछन्। जुन भूराजनीतिक संकट चीन अमेरिकाबीचको तानातान बढ्दैछ। यसले देशमा फेरि नयाँ ढंगले अराजकता ल्याउने र संघीयतालाई झनै कमजोर पार्ने, अर्थतन्त्रलाई झनै कमजोर बनाउने काम गर्दैछन्, ठूलो संकट आउँदैछ। त्यो संकटलाई थामेर देशलाई नयाँ दिशा दिलाउनको निम्ति हामीले अहिलेदेखि नै तयारी गर्न आवश्यक छ। त्यसैले यो निर्वाचनलाई सामान्य नठानीकन अग्रगामी, प्रगतिशील, समाजवादी शक्तिहरुलाई बलियो बनाउने गरेर हामी अघि बढौँ। केही समययता नेपालमा राजनीतिको गम्भीर ढंगले स्खलन भएकै हो।’
अध्यक्ष भट्टराईले केपी शर्मा ओलीको सरकारले संघीयताको सबलीकरण गर्नुको सट्टा कमजोर बनाउने प्रयास गरेको आरोप लगाए। उनले हालै मात्र पनि राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर पूर्ण असंवैधानिक कदम चालेको आरोप लगाए।

