पार्टी सभापति शेरबहादुर देउवाले समानुपातिक उम्मेदवारीमा एकलौटी गरेको भन्दै आक्रोशित भएको डा. शेखर कोइराला समूहले शनिबार काठमाडौंमा आयोजना गरेको खबदारी भेलामा युवा नेताहरू देउवामाथि खनिएका छन् ।
युवा नेता गुरुराज घिमिरेले आफूहरू अहिले आक्रोशको चरणमा आइपुगेको बताएका छन् । उनले आन्दोलनका तीन चरण विनम्रताको चरण, आक्रोशको चरण र विद्रोहको चरण हुने भन्दै अहिले विनम्रको चरणबाट आक्रोशको चरणमा आएको बताए । उनले अझ पनि सभापति देउवाले एकलौटी गर्दै गए विद्रोहको चरणमा पुग्ने चेतावनी दिए ।
यस्तै अर्का युवा नेता मनोजमणि आचार्यले टिकट वितरण न्यायोचित नभए ४० प्रतिशत भागवण्डा चाहिने बताएका छन् । उनले देउवाले यसअघि ४० प्रतिशत लिने गरेको उल्लेख गर्दै उनले लिँदा हुने हामीले निक नमाग्ने भन्दै प्रश्न गरे । उनले भने, ‘हामीले ल्याएको ४० प्रतिशत मत के का लागि हो ? महामन्त्रीले ल्याएको ३ हजार मतबारे बोल्नुपर्छ कि पर्दैन ? हामीलाई कि त न्यायोचित वितरण चाहियो नत्र ४० प्रतिशत चाहिन्छ, । हिजो शेरबहादुरलाई ४० प्रतिशत चाहिने हो भने भने आज शेखर पक्षलाई किन नचाहिने ?’
उनले शेरबहादुर देउवालाई दायाँतिर प्रचण्ड, बायाँतिर माधव नेपाल र उपेन्द्र यादव भए पुग्ने हो भन्दै प्रश्नसमेत गरे ।
यस्तै अर्का युवा नेता भूपेन्द्रजंग शाहीले गठबन्धनको ठेक्का कसले लिने हो भन्दै प्रश्न गरे । उनले कसैको गोजीमा मत नभएको भन्दै गठबन्धन कसको गोजीमा छ भनेका थिए । उनले एमाले चुनाव प्रचारप्रसारमा जुटिसकेको भन्दै आफूहरू भने खबदारी भेला गरेर बस्नुपर्ने दुखद् अवस्थामा रहेको उल्लेख गरे ।

