नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरी र कर्मचारीको सरुवा गरेर चुनावमा धाँधली गर्ने तयारी गरेको आरोप लगाएका छन्। धनुषाको विदेह नगरपालिकास्थित तीनकौरिया चोकमा आयोजित कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन्।
‘सरकारले हरेक ठाउँमा धाँधलीको तयारी गरिरहेको छ। कोही प्रहरी अहिलेको गठबन्धनतिर लाग्दैन भन्ने उसलाई लाग्यो भने त्यो प्रहरी सरुवा गर्छ। यही ठाउँबाट पनि प्रहरी सरुवा गरेको छ। कर्मचारी सरुवा गरेको छ,’ ओलीले भने, ‘गठबन्धनको चाकडी गर्दैन भन्ने लाग्यो भने कानुन बमोजिम चल्छ भन्ने लाग्यो भने सरुवा गरेको छ। यो सरकार अलोकतान्त्रिक, तानाशाही, स्वेच्छाचारी र भ्रष्टाचारी छ।’
सरकारले देशलाई हिंसा, अलोकतान्त्रिक र तानाशाही प्रवृत्तितिर लैजान खोजेको जिकिर गरेका ओलीले देशमा एमाले पनि छ भन्ने हेक्का राख्न चेतावनी दिएका थिए। कार्यक्रममा निवर्तमान सांसद उमाशंकर अरगरिया, अमृता अग्रहरिलगायतका नेता एमाले प्रवेश गरेका छन्।

