शुक्रनगर । भरतपुर महानगरका ग्रामीण क्षेत्रका सडकहरुमा पनि स्मार्ट सडक बत्ती बल्न थालेका छन् ।
राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजना र भरतपुर महानगरपालिकाको सहकार्यमा महानगरका गामीण क्षेत्रमा ८० किमी सडकमा स्मार्ट सडक बत्तीको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले प्रचण्ड मार्गअन्तर्गत भरतपुर–२५ शुक्रनगरमा शनिबार शुभारम्भ गरेकी हुन् ।
उज्यालो शहर अभियान सुरू गरेर स्मार्ट बत्तीमार्फत भरतपुर महानगरका सडकलाई झिलीमिली बनाउन लागिएको हो ।
उक्त अवसरमा मेगर दाहालले सुरक्षा र सुन्दरताको हिसाबले भरतपुरलाई नेपालकै उत्कृष्ट शहर बनाउन उज्यालो शहर अभियान थालिएको बताइन् ।
यसमा १० प्रतिशत बजेट महानगरपालिकाको छ भने बाँकी सबै लगानी विद्युत् प्राधिकरणको छ । नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजनाको भरतपुर बत्ती जडानको काम हेर्दै आएका चनैली केन्द्रका प्रमुख शिशिर लम्सालले अभियानअन्तर्गत ७८ दशमलव १ किलोमिटर सडक क्षेत्रमा एक हजार नौ सय ३३ वटा बत्ती जडान गरिएको बताए ।
भरतपुर–१०को हाकिमचोक–गीतानगर–जगतपुर सडकखण्डको १८ दशमलव ४६ किलोमिटर सडकमा ४०१ सडक बत्ती जडान भएका छन् ।
चौबीसकोठीदेखि मेघौली सम्म २३ दशमलव ८ किलोमिटर सडकखण्डमा पाँच सय ६९, मंगलपुरबाट शुक्रनगरसम्मको २२ दशमलव १३ किलोमिटर सडकखण्डमा ६ सय ५२, पुल्चोकदेखि दियालोबङ्गलासम्मको २ दशमलव ४२ किलोमिटर सडकखण्डमा ५८ वटा सडकबत्ती जडान भएका छन् ।

