चितवन, असोज १० : भरतपुर भित्रका नेपाल विद्यार्थी संघ (नेविसंघ) इकाई कमिटीहरुले महानगरभित्रका शैक्षिक संस्थाहरुमा गरिएको शुल्क वृद्धिको तत्काल फिर्ता लिन आग्रह गरेका छन् ।
आइतबार भरतपुर महानगरपालिकाको शिक्षा शाखालाई संयुक्त रुपमा ज्ञापन पत्र बुझाउँदै शुल्क वृद्धिको निर्णय २४ घण्टा भित्रमा फिर्ता लिन आग्रह गरेको हो । शान्तिपूर्ण रुपमा गरिएको आग्रहलाई बेवास्ता गरिए आन्दोलनको आधिबेरी सृजना गर्ने विद्यार्थी संगठनहरुले चेतावी दिएका छन् । नेपाल विद्यार्थी संघ सप्तगण्डकी बहुमुखी क्याम्पस इकाई सभापति साजन गुरुङले विद्यार्थी र अभिभावको ढाड सेक्ने गरि गरिएको शुल्क वृद्धि अविलम्ब फिर्ता लिन आग्रह गरे ।
‘हामी अहिले सहज रुपमा शुल्क वृद्धि फिर्ता लिन भनेका छौं, तर आलटाल गर्दै गरे हामी कडा प्रतिकारमा उत्रिन बाध्य हुनेछौं’ सप्तगण्डकी इकाई सभापति गुरुङले भने ।
ज्ञापन पत्र बुझाउन नेविसंघ वीरेन्द्र क्याम्पस इकाई सभापति कुमार जोशी, नेविसंघ अरुणोदयका सभापति कृष्ण सापकोटा, एनपीआईका इकाई सभापति प्रविन पौडेल, ओएसिस मेडिकल कलेज इकाई सभापति राजेश पौडेल, श्री मेडिकल एण्ड टेक्निकल इकाई सभापति राजकुमार शाही, युटेक इकाई सभापति माहिर श्रेष्ठ र चितवन मेडिकल कलेज इकाई सभापति सुमन पौडेलले भरतपुर महानगर पुगेका थिए ।
पछिल्लो समय भरतपुर महानगरले महानगरभित्रका हिसान र प्याब्सन अन्तरगतका स्कुल तथा कलेजहरुमा शुल्क वृद्धि गर्ने निर्णय गरेको थियो ।

