काठमाडौँ, असोज १० :नेपाली कांग्रेसमा संस्थापनइतर समूहका केही नेताहरूले आन्दोलनको घोषणा गरेका छन्। आज ठमेलस्थित यात्री होटलमा बसेको बैठकले असोज १२ गतेदेखि १४ गतेसम्म पार्टी नेतृत्वलाई खबरदारी गर्न विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको हो।
त्यस्तै उनीहरुले असोज १२ गते पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिने, असोज १३ गते बत्तिसपुतलीमा चियापान तथा विरोध सभा गर्ने र असोज १४ भित्र समानुपातिक उम्मेदवारको सूची सच्याउन नेतृत्वसँग माग गर्ने छन्।
टिकट वितरणमा पार्टीभित्र सभापति शेरबहादुर देउवा पक्षले एकलौटी गर्न खोजेको विरोधमा शेखर कोइराला र गगन थापानिकट नेताहरूले आन्दोलन घोषणा गरेका हुन्। पार्टीभित्र टिकटलगायतमा समान अवसर र दुःख गरेका कार्यकर्तालाई भूमिका तथा न्याय दिनुपर्ने माग असन्तुष्ट पक्षको छ।

