नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफूहरूको भाग नखोस्न चेतावनी दिएका छन् ।
मंगलबार पार्टी कार्यालय सानेपामा पत्रकारहरूसँग कुराकानी गर्दै नेता घिमिरेले मोरङ ४ माओवादी केन्द्रले लगे चितवन गएर प्रचण्डसँग चुनाव लड्ने चेतावनी दिएका हुन् ।
‘मोरङ ४ कांग्रेसको वर्चस्व भएको क्षेत्र हो । त्यहाँबाट चुनाव लड्ने मैले आकांक्षा राखेको छु । तर, यो क्षेत्र सिट बाँडफाँट हुँदा माओवादी केन्द्रलाई दिने सहमति भएको छ भन्ने सुनेको छु,’ उनले भने, ‘कांग्रेसका साथीहरूको भाग खोस्ने हो भने प्रचण्डसँगै लड्न चितवन किन नजाने ? उहाँले हाम्रो भाग खोस्नुहुन्छ, हामी उहाँसँग प्रतिस्पर्धा गर्न जान्छौँ ।’
उनले समानुपातिकतर्फको बन्दसूची नसच्याए देशभर विद्रोह गर्ने चेतावनी दिए । ‘हामीले असोज १६ गतेसम्म पर्खिन्छौँ । बन्दसूची नसच्याए देशभर विद्रोह सुरु हुन्छ,’उनले भने ।
नेता घिमिरेले पार्टी नेतृत्वले २०६४ यताका कुनै पनि निर्वाचनमा आफूहरूलाई उम्मेदवार बनाउन नचाहेको आरोप लगाए ।

