नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशलाई ३–१ को गोलअन्तरले पराजित गरेको छ । नेपालको जितमा अञ्जन विष्टले ह्याट्रिक गोल गरे ।
दशरथ रंगशालामा भएको खेलको १७औँ मिनेटमा बंगलादेशका कप्तान जमाल भुयानले प्रहार गरेको फ्रिकिक बल क्रस बारमा ठोकिएपछि बंगलादेशले अग्रता बनाउने मौका गुमाएको थियो । त्यसको एक मिनेटपछि अर्थात् खेलको १८औँ मिनेटमा अञ्जनले हेडर गोल गर्दै नेपाललाई १–० गोलको अग्रता दिलाए । उनले विमल घर्तीमगरको फ्रिकिकमा हेड गर्दै गोल गोल गरेका हुन् ।

खेलको २७औँ मिनेटमा नेपालले दोब्बर अग्रता बनाउन सफल भयो । योपटक पनि अञ्जनले नै गोल गरे । विमल घर्तीमगरले मिलाइदिएको बललाई तेज तामाङले राम्रो प्रहार गरेका थिए । तर, बंगलादेशका गोलकिपर अनिसुर रहमानले मुस्किलले बचाए । बंगलादेशका गोलपिकर रहमानले बचाउँदा रिबाउण्ड भएर आएको बललाई अञ्जनले गोल गर्दै नेपाललाई २–० गोलको अग्रता दिलाएका थिए ।

खेलको ३८औँ मिनेटमा गोल गर्दै अञ्जनले ह्याट्रिक पूरा गर्दै नेपाललाई ३–० गोलको अग्रता दिलाए । विशाल राईले प्रहार गरेको फ्रिकिकमा उनले हेड गर्दै गोल गरेका हुन् । राष्ट्रिय टिममा अञ्जनको यो पहिलो ह्याट्रिक हो ।
खेलको ५५औँ मिनेटमा बंगलादेशले गोल फर्कायो । बंगलादेशका सज्जाद हुसेनले गोल गर्दै ३–१ गोलको स्थितिमा पुर्याए ।

