चितवन : चितवनको ५ दलीय गठबन्धनले आफ्नो निर्वाचन क्षेत्र परिवर्तन नगर्न नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अपिल गरेको छ । मंगलवार संयुक्त बैठक बसेरै गठबन्धनले प्रचण्डलाई यस्तो अपिल गरेको हो ।
नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको गठबन्धन बैठकले निर्वाचन क्षेत्र परिवर्तन नगर्न र जिल्लालाई पुनः अभिभावकीय भूमिका निर्वाह गरिदिन आग्रह समेत गरेको छ ।
प्रचण्डलाई अपिल गर्दै निर्णयमा भनिएको छ – ‘प्रचण्डले निर्वाचन क्षेत्र परिवर्तन गर्नु असान्दर्भिक हुने ठहर गरिन्छ ।’ गठबन्धनको बैठकले यहि असोज २३ गते हुने उमेदवारी मनोनयनलाई आकर्षक र प्रभावकारी बनाउने निश्कर्ष पनि निकालेको छ ।
त्यस्तै केन्द्रबाट सिफरिस हुने सम्पूर्ण उमेदवारलाई बिजयी गराउने प्रतिवद्धता गठबन्धनको छ । बैठकले नेपालीहरुको बिशेष चाडहरु बडा दशैं, तिहार, छठ र नेपाल संवतको अवसरमा सम्पूर्णमा शुभकामना व्यक्त गरेको छ । स्रोत : निसानाखवर