हाल नेपालमा मध्य-पश्चिम बंगालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।
हाल सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । सुदूर पश्चिम प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका केही, कर्णाली प्रदेशका थोरै र लुम्बिनी तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको संभावना रहेको छ ।
यस्तै, राती कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदलि रहनेछ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
आज शुक्रबार भारी वर्षाका कारण बाढी-पहिराेकाे जाेखिम रहेकाेले महाशाखाले सतर्क रहन आग्रह गरेकाे छ ।

