चितवनका राजनीतिक दलहरुले आसन्न संघ र प्रदेश निर्वाचनमा आचारसंहितको पूर्णरुपमा पालना गर्ने प्रतिवद्धता जनाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले आज (शुक्रबार) गरेको सर्वदलीय बैठकमा राजनीतिक दलका प्रतिनिधिहरुले आचारसंहिता पालना गर्ने प्रतिवद्धता जनाएका हुन् ।
राजनीतिक दलहरुले आचारसंहिता पालना भए/नभएको अनुगमनमा कडाई गर्न निर्वाचन कार्यालयलाई समेत आग्रह गरेका छन् । नेकपा एमालेका केन्द्रीय सदस्य देवी ज्ञवालीले निर्वाचन आचारसंहिता पूर्णपालना गराउन निर्वाचन अधिकृतको कार्यालय क्रियाशिल हुनपर्नेमा जोड दिए । उनले निर्वाचन निश्पक्ष र भयरहित बनाउन समेत माग गरे । नेपाली कांग्रेस चितवनका उपसभापति राजीव न्यौपानेले हालसम्म भएका सबै निर्वाचनमा कांग्रेसले आचारसंहिता पालना गर्दैआइरहेको भन्दै यसपटक पनि आचारसंहिता पालनामा कांग्रेस प्रतिवद्ध रहेको बताए । उनले आचारसंहितको निगरानी बढाउन आग्रह गरे ।

नेकपा (माओवादी केन्द्र) चितवनका अध्यक्ष रामचन्द्र अधिकारीले पनि आचारसंहिता पालना गर्नेमा पार्टी प्रतिवद्ध रहेको भन्दै अनुगमन जरुरी रहेको बताए । नेकपा (एकीकृत समाजवादी) चितवनका नेता कृष्णराज न्यौपानेले आफूहरुको पार्टी भर्खरको पार्टी रहेको भन्दै ठूला र पुराना पार्टीहरुले नै आचारसंहिता उल्लंघन गर्ने गरेको आरोप लगाए । उनले आफ्नो पार्टी आचारसंहिता पालना गर्नेमा पूर्ण प्रतिवद्ध रहेको बताए । राप्रपा नेपाल चितवनका अध्यक्ष रुद्रप्रसाद ढकाल र राप्रपा चितवन चितवनका अध्यक्ष विष्णुप्रसाद खरालले पनि आचारसंहित पूर्ण रुपमा पालना गर्ने प्रतिवद्धता जनाए ।
यस्तै निर्वाचन आचारसंहिता अनुसार चितवनमा मनोनयन दर्ताको दिन बाजागाजासहितको ¥यालीमा निर्वाचन कार्यालयले रोक लगाएको छ । बढीमा २५ जनाको संख्यामा मात्रै मनोनयन दर्तामा सहभागि हुन आग्रह गरिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए । उनले आचारसंहिता पालनाको अनुगमन गर्न गरेर मात्र नहुने भन्दै स्वंम दलहरुलाई जिम्मेवार भएर लाग्न आग्रह समेत गरेका छन् । चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले निर्वाचनमा सुरक्षा व्यवस्था कडा पारिने भन्दै आचारसंहिता उल्लंघन नगर्न राजनीतिक दलहरुलाई अनुरोध गरे । उनले विगतका निर्वाचनमा आचारसंहिता उल्लंघन गरे बापत कसैलाई पनि कारवाही गर्न नपरेको स्मरण गर्दै यसपटक पनि त्यस्तो वातावरण बनाउन सबै राजनीतिक दलहरुलाई आग्रह गरे ।
चितवन क्षेत्र नं.३ का निर्वाचन अधिकृत हरि सिंह धामीले निर्वाचन आचारसंहितको पालनमा स्वंयम् राजनीतिक दल नै सचेत हुनुपर्नेमा जोड दिए । उनले दलले पैसा बाड्ने काम आयोगले कसरी रोक्न सक्छ भन्ने प्रश्न गर्दै यस्तो काम स्वंयम् दलहरुले नगरि आचारसंहिताका पालना गरे सबै निर्वाचन सहज हुने बताए ।
यस्तै चितवनका तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । क्षेत्र नं.१ को खैरहनी नगरपालिकाको भवनमा, क्षेत्र नंं.२ को भरतपुर–१० स्थित औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको भवनमा र क्षेत्र नं.३ को भरतपुर–१५ स्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयका भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
चितवनमा प्रतिनिधि सभातर्फ ३ र प्रदेशसभा तर्फ ६ वटा निर्वाचन क्षेत्र रहेका छन् । आगामि मंसिर ४ गते हुन लागेको संघ र प्रदेश सभा निर्वाचनका लागि असोज २३ गते आइतबार मनोनयन दर्ताको कार्यतालिका रहेको छ ।

