भरतपुर, २४ असोज : हाँस्यरसले भरिपूर्ण नेपाली कथानक चलचित्र ‘महापुरुष’ टोली देशदौडाहामा छ । यो टोलीले ‘प्रमोसनल टुर’ गर्दैछ । भोलि असोज २५ बाट सुरु हुने टुर देशका प्रमुख सात सहरमा गरिने छ ।
टुरको एउटा कार्यक्रम चितवनमा पनि छ । त्यो २८ गते शुक्रबार नारायणगढको नारायणी किनारमा गरिने छ ।
मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यको प्रमुख भूमिका रहेको चलचित्रको प्रचारप्रसारका लागि गरिएको टुर कार्यक्रममा विविध मनोरञ्जनात्मक प्रस्तुति गरिने चलचित्रका कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँले जानकारी दिए ।
असोज २५ गते पूर्वी सहर बिर्तामोडदेखि प्रचार अभिनय सुरु हुने जानकारी उनले दिए । २६ गते इटहरी र बिराटनगर तथा २७ गते हेटौंडामा कार्यक्रम सकेर टोली २८ गते नारायणगढ आउने छ । त्यसदिन साँझ ४ देखि ६ बजेसम्म टोली नारायणी किनारमा रहने छ ।
चितवन सकेपछि भने टोली २९ गते बुटवल र ३० गते पोखरा टुर जाने छ ।
मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यसहित फिल्मका कलाकारहरु राजाराम पौडेल, गौरी मल्ल, रविन्द्रसिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइली, कमेडियन सुमन कार्की र गायक निशान भट्टराई टुरमा सहभागी हुने बानियाँले जानकारी दिए ।
सामाजिक कथावस्तु र कमेडी जानरामा निर्माण भएको प्रदीप भट्टराई निर्देशित फिल्म तिहार भाइटीकाको भोलिपल्ट अर्थात कात्तिक ११ गते प्रदर्शन हुँदैछ ।
चलचित्र म्याक्स दिपेश खत्रीले निर्माण गरेका हुन् ।

