नेकपा एमालेको पार्टी प्रवेश कार्यक्रममा सोमबार राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) का अध्यक्ष कमल थापा प्रमुख अतिथि बनेका छन्। एमाले पार्टी कार्यालय मकवानपुरमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका जिल्लास्तरका नेता पार्टी परित्याग गरी एमाले प्रवेश गर्दा थापाले उनलाई स्वागत गरेका थिए।
एमालेले आगामी मंसिर ४ गते हुने निर्वाचनका सन्दर्भमा चुनावी रणनीति बनाउनका लागि आफ्ना पार्टीका तर्फबाट उम्मेदवार बनेका नेता र जनवर्गीय संगठनका नेतासँग अन्तर्क्रिया कार्यक्रम राखेको थियो।
उक्त कार्यक्रममा एमालेको समर्थनमा उम्मेद्वार बनेका थापा पनि अरु उम्मेद्वारसँगै थिए । सोही कार्यक्रममा माओवादी केन्द्रका जिल्ला सदस्य शंकर राउत एमाले प्रवेश गरेका हुन्। थापाले उनै राउतलाई एमालेमा स्वागत गरे।
कार्यक्रममा थापाले करिब २० मिनेट सम्बोधन पनि गरेका थिए । सम्बोधनको धेरैजसो समय उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रशंसामा खर्च गरे भने राष्ट्रवादी शक्तिलाई किनारा लगाउन सत्तागठबन्धन लागिपरेको आरोप लगाए।
थापाले सूर्य चिह्नबाट चुनाव लड्न पाउनु आफ्नो लागि गौरवको कुरा भएको दोहोर्याए। उनले भने, ‘मलाई यो भन्दाखेरी गौरवको अनुभव हुन्छ कि एमालेजस्तो गौरवशाली राष्ट्रियता र लोकतन्त्रको पक्षमा निरन्तर संघर्ष गरेको पार्टीको सहयोग प्राप्त गर्नु र उक्त पार्टीको अत्यन्तै लोकप्रिय चुनाव चिह्न सूर्यबाट चुनाव लड्न पाउनु मेरो निमित्त सौभाग्य ठानेको छु ।’
थापाले अब सूर्यध्वजाबाहक ठुलो परिवारको सदस्यको रुपमा रहेको पनि बताए।
उनले एमालेको सदस्यको रुपमा रहेको बताउँदा निर्वाचन आयोगले भने एकै व्यक्ति दुई वटा राजनीतिक दलमा रहन नपाउने व्यवस्था रहेको बताएको छ।
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले राजनीतिक दल सम्बन्धि ऐनमा एकै व्यक्ति दुई वटा राजनीतिक दलमा रहन नपाउने स्पष्ट रहेको बताए।
थपलियाले भने– आयोगमा दर्ता भएअनुसार जुन व्यक्ति जुन दलमा छ सोही बमोजिम आयोगले हेर्छ।
कानुनविद्हरुका अनुसार थापाले एमालेको चुनाव चिन्हमार्फत चुनाव लडेपछि संसदमा सोहि दल मातहत रहनुपर्ने हुन्छ।
राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले उम्मेदवार बनेका नेता र जनवर्गीय संगठनका नेतासँग अन्तर्क्रिया कार्यक्रममा माओवादीका जिल्ला स्तरका नेता एमालेमा प्रवेश गर्दा अध्यक्षज्यूले पनि स्वागत गर्नुभएको र यो ठूलो विषय नभएको बताए।
बर्तौलाले एक अनलाइन संग बताए अनुसार– ‘अध्यक्षज्यू स्वागत कार्यक्रममा जानुभएको होइन, अन्तर्क्रिया कार्यक्रममा एक जना पार्टी प्रवेश गर्दा अरुले जस्तै स्वागत गर्नुभएको हो।’
आज एमालेले आयोजना गरेको कार्यक्रममा थापा प्रमुख अतिथि बन्नुभयो,राप्रपा नेपाल पनि एमालेमा समाहित हुन लागेको हो भन्ने प्रश्नमा बर्तौलाले भने– त्यस्तो हैन, चुनाव मात्रै सूर्य चिन्हबाट लड्न लागेका हौँ, हामी एमालेसँग पार्टी एक बनाउँदैनौँ। यो समाचार देशसंचार अनलाइनले प्रकाशन गरेको छ।

