वर्षौदेखि राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत २२ जना श्रमजीवी पत्रकारको रोजगारी खोस्न लागेपछि त्यसको विरोधमा नेपाल पत्रकार महासंघलगायत पेशागत संघसंगठनले शुक्रवार रासस केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् ।
पत्रकारलाई निष्कासन नै गर्नेगरी श्रमजीवी पत्रकारविरुद्ध रासस व्यवस्थापनले कदम चालेपछि राससका अस्थायीर करार र ज्यालादारी पत्रकार संघर्ष समितिको आयोजना तथा नेपाल पत्रकार महासंघलगायत पेशागत संघ संगठनका प्रतिनिधिहरूको सहभागितामा राससमा धर्ना दिइएको हो ।
धर्नापछि आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले पत्रकारविरुद्धका कदम तत्काल सच्चाउन रासस व्यवस्थापनलाई चेतावनी दिए ।
उनले छिट्टै बैठक बसेर महासंघकै नेतृत्वमा आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरिने र कुनै पनि हालतमा श्रमजीवीको मुद्दा स्थापित गरेरै छाड्ने स्पष्ट पारे । महासचिव पुरीले महासंघका पुर्वअध्यक्ष धर्मेन्द्र झाले नै श्रमजीवी पत्रकारलाई हटाउने कार्य गर्नु अनुचित भएकाले तत्काल २२ जना पत्रकारको नवीकरण गर्न माग गरे ।
श्रमजीवी पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसीले नियत खराब राखेर व्यवस्थापन पक्षले श्रमजीवी पत्रकारलाई हटाउन खोजेको स्पष्ट नियत देखिएको बताए । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण अधिकारीले महासंघको पुर्वअध्यक्ष झा व्यवस्थापन प्रमुख हुँदैमा आन्दोलनमा महासंघको साथ सहयोग नरहने अवस्था नहुने भन्दै महासंघले ती २२ जना पत्रकारको रोजगारी खोस्न नदिने बताए ।
नेपाल पत्रकार महासंघ अगुवाइमा नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन, श्रमजीवी पत्रकार संघलगायत पत्रकारका पेशागत संगठनको सहभागितामा रासस केन्द्रीय कार्यालयमा शुक्रवार दिउँसो १ देखि ३ बजेसम्म धर्ना कार्यक्रम गरिएको थियो । राससका अस्थायी, करार र ज्यालादारी पत्रकारलाई रासस व्यवस्थापन पक्षले हटाउन थालेपछि चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् ।

