निराज रानाभाट , काठमाडौं : ऐतिहासिक कथा वस्तुमा निर्माण भएको चलचित्र ‘ नालापानी ’ कार्तिक ०४ गते , शुक्रबार ( अाज ) प्रदर्शन हुँदै छ ।
रिमेश अधिकारी निर्देशित चलचित्र सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज – नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर निर्माण भएको छ ।
चलचित्र विकास बोर्डले २ वर्ष अगाडि विशेष चलचित्र घोषित गरेको ‘ नालापानी ’ को रिसर्च तथा लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् । प्रा.डा. धनराज कुँवर र रामराजा कुँवरद्वारा लिखित ‘ नालापानी ´ का नायक वीर बलभद्र पुस्तकमा आधारित रहेर इतिहासविदहरू प्रा. डा. धनराज कुँवर, प्रा. डा. त्रिरत्न मानन्धर , प्रा. दिनेशराज पन्त , प्रा. डा. सुरेन्द्र के.सी. , पूर्व सहायक रथी डा. प्रेम सिंह बस्न्यातहरूसँग पटकपटक छलफल गरि नेपाली सेनाले प्रकाशित गरेको पुस्तक ‘ सैनिक इतिहास ’ लगायतका पुस्तकमा आधारित रहेर ‘ नालापानी ’ तयार पारिएको हो ।

