अन्तिम समयमा दुई गोल गरेपछि रियाल मड्रिडले शनिबार राति स्पेनिस ला लिगामा सेभियालाई ३–१ ले हराएको छ । रियालले घरेलु मैदानमा लुका मोड्रिचको गोलबाट पाँचौँ मिनेटमा अग्रता लिएको थियो । ५४ औँ मिनेटमा सेभियाका एरिक लामेलाले बराबरी गोल फर्काए ।
रियाल ७९ औं मिनेटसम्म बराबरीमा रोकिएको थियो । त्यससँगै रियालले जारी सिजन दोस्रो खेलमा अंक बाड्ने सम्भावना बढेको थियो ।
तर, खेल सकिन ११ मिनेट बाँकी हुँदा लुकास भाज्क्वेजले गरेको गोलबाट रियालले अग्रता लियो । त्यसको दुई मिनेट बित्न नपाउँदै फेडरिको भालभार्डेले अर्को गोल थपेपछि रियालले तीन अंक पक्का गर्यो ।
जितसँगै साविक विजेता रियालले दोस्रो स्थानको बार्सिलोनालाई ६ अंकले पछाडि छाडेको छ । तर, बार्सिलोनाले एक खेल कम खेलेको छ । पराजित सेभिया भने १० अंकका साथ १४ औं स्थानमा छ ।
गत साता रियाल मड्रिडसँग पराजित बार्सिलोनाले आइतबार घरेलु मैदान नोउ क्याम्पमा एथलेटिक बिल्बाओसँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेलमा विजयी नतिजा निकाल्यो भने बार्सिलोनाले रियालसँगको दूरी कम गर्नेछ ।
ला लिगामा गएराति मायोर्काले भ्यालेन्सियालाई २–१ ले हरायो । रियाल भालाडोलिडले रियाल सोसिडाडलाई १–० ले हराउँदा रायो भायोकानोले काडिजलाई ५–१ ले हरायो । खेल समाप्त हुँदा काडिज ९ खेलाडीमा सीमित भएको थियो भने रायो भायोकानो १० खेलाडीमा सीमित भएको थियो ।

