नेपाली कांग्रेसका नेता नरहरि आचार्यले काठमाडौं- ५ को विकास प्रदीप पौडेललको टिमले मात्र गर्न सक्ने बताएका छन् । आइतबार नेपाल लोकतान्त्रिक खेलकुद संघले आयोजना गरेको खेलाडी सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले युवाहरूको टिमले मात्र विकासको ढोका खुलाउन सक्ने बताएका हुन् ।
‘काठमाडौं ५ मा युवाहरूको बलियो टिम छ,’ आचार्यले भने, ‘यो टिमले जिते मात्र काठमाडौं ५ मा विकासका ढोका खुल्न थाल्छन् ।’ कांग्रेसले सार्वजनिक गरेको घोषणापत्रलाई हुबहु कार्यान्वयन गराउन पनि प्रदीपले जित्नैपर्ने उनले बताए । ‘कांग्रेसले सार्वजनिक गरेका प्रतिबद्धतालाई पूरा गर्न अब ५ वर्ष प्रदीप जीले घचघच्याउनुहुनेछ,’ आचार्यले भने ।
देशलाई संकटबाट बचाउनका लागि गठबन्धन निर्माण भएको आचार्यले तर्क गरे । त्यसैले गठबन्धनप्रति जिम्मेवार रहन कार्यकर्तालाई उनको आग्रह थियो । ‘जब-जब देशलाई संकट पर्छ त्यतिबेला कांग्रेसले नै नेतृत्व गर्दै आएको छ,’ आचार्यले भने, ‘अहिलेको गठबन्धन पनि कांग्रेसले खोजेर भएको होइन त्यस्तै परिस्थितिले उब्जाएको हो । त्यसैले गठबन्धनप्रति सबैजना जिम्मेवार बनौँ ।’
अहिलेसम्म भएका निर्वाचन कांग्रेसकै नेतृत्वले गर्दै आएको आचार्यले स्मरण गरे । ‘नेपालमा कांग्रेसबाहेक अन्य पार्टीले निर्वाचन गराउन सकेका छैनन्,’ उनले भने, ‘लोकतन्त्रको रक्षा र निर्वाचन गर्नका लागि कांग्रेसकै नेतृत्व चाहिने रहेछ भन्ने प्रमाणित भएको छ ।’
झण्डै ५ वर्षयता स्वास्थ्यलाभ गरिरहेका आचार्य लामो समयपछि सार्वजनिक कार्यक्रममा उपस्थित भएका हुन् । कार्यक्रममा खेलाडीहरूलाई सम्मान गर्दै खेलाडीको मेहेनतले देशकै गरिमा बढाउने उनले बताए । ‘राष्ट्रको पहिचान गराउने एउटा सशक्त माध्यम खेल नै हो,’ उनले भने, ‘खेलाडीले नै देशको गरिमा बढाउने हुन् ।’

