उपप्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीेका सभापति रवि लामिछानेले नयाँ नागरिकता लिने भएका छन् । अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनःप्राप्ति नगरेको सर्वोच्चले ठहर गर्दै सांसद पद गुमेपछि उनले नयाँ नागरिकता लिने भएका हुन् ।
‘आइतबार या सोमबार नयाँ नागरिकता लिनुहुन्छ । नयाँ प्रक्रियाबाट फेरि आउनुहुन्छ,’ रास्वपाका एक केन्द्रीय नेताले भने । पार्टी सभापति के हुन्छ भन्ने प्रश्नमा ती सदस्यले भने, ‘फेरि वैधानिक तबरले उहाँ नै आउनुहुन्छ ।’
तत्काल रास्वपा पार्टी सभापति अर्को चयन गर्ने मनस्थितिमा छैन । सांसद पद गएपछि संसदीय दलको नेता अर्को चयन गर्ने पक्षमा पनि रास्वपा छैन । फेरि चुनावमा गएर उनी नै निर्वाचित भएर आउने विश्लेषण रास्वपाको छ ।
‘अहिलेभन्दा धेरै मत ल्याएर जितेर आउनुहुन्छ । संसदीय दलको नेता अर्को बनाउनै पर्दैन । तत्काललाई उपनेताले हेर्नुहुन्छ । ५/६ महिना संसदीय दलको नेता नहुने भयो । यसले केही फरक पर्दैन,’ लामिछानेनिकटका ती नेताले भने ।
तर, पार्टी प्रवक्ता मुकुल ढकाल भने कानुनविद्हरूसँग छलफल गरेर निर्णय गरिने बताउँछन् । ‘अहिले कुनै निर्णय भएको छैन । वकिलहरूसँग छलफल गर्छौं,’ उनले भने ।
सर्वाेच्च अदालतले शुक्रबार आदेश दिए पनि पूर्णपाठ नआएकाले उनले अब कसरी नागरिकता लिन्छन् भन्ने स्पष्ट भएकाे छैन ।

