चितवन, माघ १३ : चितवनका पत्रकार रमेशकुमार पौडेललाई राष्ट्रिय प्रकृति संरक्षण पुरस्कार प्रदान गरिने भएको छ । नेपाल लाटोकोसेरो तथा हुचील उत्सव २०७९को अवसरमा माघ २१ गते पौडेल सहित चार जना संरक्षण कर्मीलाई पुरस्कार प्रदान गर्न लागिएको हो ।
अनुसन्धानकर्मी र संरक्षणकर्मीहरुलाई संरक्षणको क्षेत्रमा गरेको योगदानको कदर गर्दै ‘प्रकृति संरक्षण पुरस्कार’ समेत दिन लागिएको आयोजकले जनाएको छ । संरक्षणकर्मीहरुलाई जनही नगद २५ हजार रुपैयाँ सहित ताम्रपत्र तथा दोसल्लाबाट सम्मान गरिने छ ।
यस वर्ष पुरस्कृत हुनेहरुमा कान्तिपुरकर्मी पौडेल सहित जाजरकोटका जिल्लाका बारेकोटे गाउँपालिकाका संरक्षणकर्मी गोविन्द बहादुर सिंह, काठमाडौँस्थित गोकर्णेश्वर—४का अनुसन्धानकर्मी हेमबहादुर कटुवाल र भारतीय वैज्ञानिक डा।सतीश अ।पांडे रहेका छन् । संस्थागत सम्मान लामो समय देखि विद्यार्थी परिचालन गरि चरा तथा प्रकृति संरक्षणमा योगदान गरेको विद्यालयलाई पनि गर्न लागिएको छ ।
यसरी सम्मानित हुनेमा यस वर्ष काठमाण्डौ, किर्तीपुर स्थीत क्रीयटीभ एकेडेमी रहेको छ । पुरस्कार नेपाल लाटोकोसेरो तथा हुचील उत्सव २०७९को दिन प्रदान गरिने छ । यो उत्सव माघ २० र २१ गते कैलालीमा माघी होमस्टे, घोडाघोडी बर्ड सेन्चुरी, कैलालीले गर्न लागेको हो । किसानको साथी भनेर चिनिने तर संरक्षणको हिसाबले ओेझेलमा परेको लाटोकोसेरो तथा हुचीलहरुको संरक्षणका लागि यो उत्सव आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।

