–रामशरण गैरे
देशकै तेस्रो पर्यटकीय गन्तव्य चितवनका पर्यटकीय क्षेत्र यतिबेला सुनसानजस्तै भएका छन् । चितवनका पर्यटकीय नगरी भनेर चिनिने सौराहा, पटिहानी, जगतपुर र मेघौली यतिबेला उठ्न सकेको छैन । पर्यटकीय नगरीका होटेल व्यवसायीहरु प्याकेजका कार्यक्रमहरु रद्द भएको बताउँछन् । पर्यटकको संख्यामा ९० प्रतिशतले कमी आएको छ । पश्चिम चितवनमा १० वटा स्तरीय पर्यटकीय होटलहरु रहेका छन् । मेघौलीमा भारतको ताज होटलको सहकार्यमा चौधरी समूहको मेघौली सराई सञ्चालनमा आइसकेको छ । मेघौलीमा अहिले पर्यटक राख्न सक्ने साना–ठूला गरी ११ वटा होटल सञ्चालनमा छन् । पछिल्लो समय ठूलो लगानीमा बनेका चौधरी ग्रुपको मेघौली सेराई, बाराही होटल, गोलाघाट वाइल्ड लाइफ रिसोर्ट, होटल सारङ्गा हुन् । ती होटलहरु अहिले सुनसान बनेका छन् । सदरमुकाम भरतपुरबाट झन्डै १५ किलोमिटरको दूरीमा रहेको पटिहानीका होटलहरुमा पर्यटक आउने क्रम ज्यादै पातलो छ । भरतपुरबाट झन्डै ३५ किलोमिटर रहेको पर्यटकीय क्षेत्र मेघौलीको गोलाघाटमा पनि अवस्था पटिहानीको जस्तै छ । सौराहा, पटिहानी र मेघौलीका पर्यटन व्यवसायीहरुले पर्यटकहरुलाई निकुञ्जमा जिप सफारी, राप्ती नदीमा डुंगा सयर, जंगल वाक, हात्ती सफारी, थारु कल्चर कार्यक्रम प्रदान गर्दै आएका छन् । पर्यटनबाट प्रत्यक्ष लाभ–हानि बेहोर्ने होटल व्यवसायीहरु समेत शिथिल भएर बसेका छन । यही पाराले चितवनलाई पहिलो पर्यटकीय गन्तव्य बनाउन सकिन्छ त ?
चितवनलाई देशको तेस्रो पर्यटकीय गन्तव्य भनिन्छ । अझ यसलाई पहिलो नै बनाउने भनेर चर्काचर्का र ठूला भाषण गर्नेहरुको कमी पनि छैन यहाँ, तर विनासकारी भूकम्प र विडम्बनापूर्ण भारतीय नाकाबन्दीले अनि हालै आएको बाढी र मुग्लिन सडक सधैँजसो बेहाल भएको अवस्थाले गर्दा थिलथिलो बनेको चितवनको पर्यटन क्षेत्रलार्ई बिउँत्याउने जाँगर आजसम्म कसैमा पनि देखिएन । जिल्ला समन्वय समितिमा पर्यटन शाखा पनि छ । पर्यटन संकटमा पर्दा यो निकायले परम्परागत तरिकाले भन्दा फरक भएर काम गर्नुपर्ने हो, तर दस्तावेजमा बाहेक यसको अस्तित्व अन्त देख्नै पाइँदैन । जिल्लामा पर्यटन विकास समिति भन्ने संस्था छ, जसका गतिविधि फेसबुकमा आक्कलझुक्कल देखिन्छ । पर्यटक चितवन आउने भनेको राष्ट्रिय निकुञ्जका जंगली जनावर हेर्न हो । चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको संख्या उत्साहजनक छैन । मुलुककै आर्थिक परिवर्तनको प्रमुख आधारमध्ये पर्यटन विकास पनि एक हो । यस अर्थमा पनि हामी पश्चिम चितवनवासीका लागि यो उपयुक्त समय हो, यहाँको पर्यटन विकास गर्न । समग्र नेपालको केन्द्रभागमा रहेको, स्रोत र साधनका हिसाबले पनि हाम्रो चितवन पर्यटन, कृषि र जडीबुटीका लागि धनी छ । समग्र तीन नम्बर प्रदेशकै विकासका दृष्टिकोणले पनि यहाँको पर्यटन विकास अबको आवश्यकता हो । अब महानगरपालिकामा गाभिएको पश्चिम चितवनले अस्तित्व बचाउन र पर्यटन विकासका निम्ति लड्नैपर्ने छ ।

चितवनको पर्यटन २० वर्षभन्दा पनि पछाडि धकेलिएको छ । अवस्था यस्तो गम्भीर मोडमा पुग्दा हाम्रो चासो र सक्रियता पनि त्यहीअनुरुप हुनुपर्ने हो । भूकम्प र नाकाबन्दीपछि धेरै कुरा सामान्य अवस्थामा आए पनि चितवनमा पछिल्लो वर्षमा पर्यटकीय होटल निर्माण बन्द भएको छ । सक्रियता पटक्कै छैन । पर्यटक बढाउन न तात्कालिक कार्यक्रम छ, न पर्यटन जोगाउन दीर्घकालीन योजना छ । चितवन अहिले रनभुल्लमा छ । सुधार्न पहल सुरू हुनुपर्ने हो । विडम्बना ! त्यसो हुन सकेको छैन । चितवनको नामै काफी छ भनेर बस्दै हामीले धेरै कुरा गुमाउँदै छौँ । पछिल्ला वर्षहरुमा निकुञ्ज घुम्नेहरुको संख्या ह्वात्तै बढ्न थालेको थियो । दुई वर्षअघि वैशाखमा विनासकारी भूकम्प नआएको भए पर्यटक संख्या वर्षको दुई लाख नाघ्ने प्रबल सम्भावना थियो । महिनामा १० हजारदेखि २५ हजारसम्म पर्यटक आउन थालेका थिए । तर, भूकम्पपछि निकुञ्ज घुम्ने पर्यटकको संख्या जोड्दा महिनामा पनि दुई हजार पुग्न मुस्किल भयो । यति हुँदा पनि गत आर्थिक वर्षमा निकुञ्ज घुम्ने पर्यटकको संख्या एक लाख ७८ हजार पुग्यो । लामो समयपछि चितवन निकुञ्ज घुम्ने पर्यटकको संख्या एक लाख पनि नपुग्ने अवस्था आएको छ । निकुञ्ज घुम्ने पर्यटकको संख्या आर्थिक वर्ष ०५४÷५५ मा पहिलोपटक एक लाख पुगेको थियो । त्योभन्दा अघिल्लो आर्थिक वर्ष ०५३÷५४ मा पर्यटक संख्या ९६ हजार ६२ थियो ।
पछिल्लो समय पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गरेको पश्चिम चितवनको पटिहानीमा लगानी बढाउन पर्यटन व्यवसायी तथा उद्योगीहरुको समेत चासो बढ्न थालेको पाइन्छ । रामसार सूचीमा सूचीकृत बिसहजारी ताललगायत सामुदायिक वनहरुको नजिक रहेको पटिहानी सांस्कृतिक रुपमा पनि सम्पन्न रहेको भन्दै व्यवसायीहरु यस क्षेत्रमा लगानी गर्न हौसिएका हुन् । पर्यटकीय विविधताले भरिएको पटिहानी आफैँमा एउटा सुन्दर उपहार भएको नकार्न सकिन्न । साथै, यस स्थानमा सिमसार क्षेत्र बढी भएको हुँदा पर्यटकले हात्तीमा चढेर निकुञ्ज क्षेत्रभित्र पाइने बाघ, गैँडा, भालु, गौरीगाई, चित्तल, मृग, जरायोजस्ता दुर्लभ वन्यजन्तु, चराचुरूंगी र गोही हेर्न सक्नेछन् । हात्ती सञ्चालनको अनुमति पाएका चारवटा सामुदायिक वन दुर्लभ एकसिंगे गैँडाको राम्रो बासस्थान मानिन्छन् । यहाँ हाल दैनिक दुईवटा हात्ती प्रयोग गर्दै बिहान–बेलुका दुई समयमा हात्ती सफारी हुन्छ । तर, आठवटा हात्ती सफारीको अनुमति लिइएको छ ।
विश्वसम्पदा सूचीमा सूचीकृत नेपालको पहिलो राष्ट्रिय निकुञ्ज तथा चितवन जिल्लाको सदरमुकाम भरतपुरदेखि २५ किमी पश्चिममा पर्ने मेघौली प्राकृतिक, सांस्कृतिक एवं धार्मिक सम्पदाले सम्पन्न रहेको छ । नारायणी र राप्ती नदीले तीनतिरबाट घेरिँदा टापूजस्तो देखिने मेघौली काठमाडौँबाट करिब ६ घन्टाको दूरीमा गाडीबाट १६० किमीको यात्रा गरेपछि पुगिने प्रख्यात पर्यटकीय स्थल हो । ८ वटा सामुदायिक वनहरु, सिमसार क्षेत्र, घाँसे मैदान तथा थुप्रै तालहरु भएकाले चितवन राष्ट्रिय निकुञ्जका दुर्लभ वन्यजन्तु तथा चराचुरूंगीको बाक्लो बासस्थानका रुपमा मेघौली प्रख्यात छ । नेपालको तेस्रो पर्यटकीय गन्तव्य चितवन हो । चितवनको पहिलो पर्यटन क्षेत्र सौराहा हो भने दोस्रो मेघौली नै हो । चितवन निकुञ्जसँग जोडिएकाले यहाँ वाइल्ड लाइफ, वन्यजन्तु, पर्यटन र स्थानीयको संस्कृति हेर्न पर्यटक आउँछन् । भरतपुरबाट मेघौली जाने सडकमा खाल्डाखुल्डी बढी भएको र स्तरोन्नति नहुँदा सो क्षेत्रमा पर्यटक लैजान सकस हुँदै आएको छ । चितवनमा रहेका ४० वटा पर्यटन गन्तव्यमध्ये भरतपुर महानगरमा २१ वटा रहेको छ । पछिल्लो समय मेघौली क्षेत्रमा मात्रै साना तथा ठूला गरी २२ वटा होटल सञ्चालनमा रहेको छ । थपिने क्रममा छ । त्यसमध्ये ३ वटा ठूला, ६ वटा मझौला र १३ वटा साना होटलसहित होमस्टेहरु सञ्चालनमा रहेको छ । मेघौलीमा ४ सय १८ बेड क्षमता रहेका होटल सञ्चालनमा छन् । हात्ती सफारीका लागि १० वटा हात्ती, ६ वटा जिप सफारी र १५ वटा डुंगाको व्यवस्था रहेको छ । चितवन राष्ट्रिय निकुञ्ज, नारायणी र राप्ती नदीको सामीप्यतामा रहेको सो क्षेत्र पर्यटनका हिसाबले प्रशस्त सम्भावना रहेको ठाउँ हो । पर्यटकीय होमोग्रामको रुपमा बिकास गरेर बढनु जरूरी छ ।
राप्ती र नारायणीको संगम स्थल मेघौलीको गोलाघाट, गोही प्रजनन् केन्द्रको रुपमा रहेको कसरा र यहाँका ठूला–ठूला जंगल रिसोर्टहरु पहिलेदेखि नै पर्यटकका रोजाइ नबनेका हैनन् । प्रचुर पर्यटकीय सम्भावना बोकेको चितवनका रमणीय वनजंगल, खोलानाला, तालतलैया एवं मठमन्दिरहरुको जगेर्ना, प्रवद्र्धन र प्रचारप्रसार गर्न सक्ने हो भने हामी समग्र चितवनलाई नै पर्यटन केन्द्रका रुपमा बिकास गर्न सक्छौँ । लोपोन्मुख जंगली जनावर, विभिन्न प्रजातिका चराचुरूंगी र अन्य ससाना जीवजन्तुहरुको एउटै क्रीडास्थलका रुपमा रहेको चितवन राष्ट्रिय निकुञ्ज पर्यटकहरुको पहिलो रोजाइ बन्न सक्छ । प्राकृतिक सुन्दरताका अनुपम छटाहरुले सुसज्जित हाम्रो यो परिवेश संसारका कुनै पनि पर्यटकीय स्थलहरु भन्दा कम सुन्दर छैन । तर, प्रचारप्रसार र पूर्वाधार विकासमा यथेष्ट ध्यान नदिँदा यो छायामा परिरहेको छ । पर्यटन आकर्षणको रुपमा विकास भैरहेको पूर्वी चितवनको सौराहदेखि गोही प्रजनन् केन्द्रका रुपमा रहेको पश्चिम चितवनको कसरासम्मको निकुञ्ज क्षेत्र र यसआसपासका सामुदायिक वनहरुलाई हामी पर्यटन क्षेत्रका रुपमा विकास गरी त्यस क्षेत्रका गाउँहरुलाई पर्यटन सिटीका रुपमा अघि बढाउन सक्छौँ, जसले समग्र चितवनको विकास र पर्यटन क्षेत्रमा उल्लेख्य योगदान पु¥याउन सक्छ । चितवन राष्ट्रिय निकुञ्जको काखमै पूर्वदेखि पश्चिमतर्फ कलकलाउँदै बग्ने रापती नदी, नदीकिनारका फराकिला बगरहरु, हात्ती तथा गोही प्रजनन् केन्द्र, सुन्दर एवं रमणीय ताल, विविध धार्मिकस्थलसँगै सबै खाले जंगली जनावरहरुका बीच चराचुरूंगीहरुको संगीतमय वातावरणमा हुने डुंगा सयर, हात्ती सयर, फिसिङ, जंगल सफारी र भ्यू–टावर पर्यटन आकर्षणका आधारहरु हुन् । यी सब कुराहरुलाई व्यवस्थित गर्दै यसलाई पर्यटन प्याकेजकै रुपमा अघि बढाउने हो र पर्यटन बसाइका हिसाबले सुविधासम्पन्न पूर्वाधार निर्माण गर्न सक्ने हो भने हामी लक्ष्यमा पुग्न सक्छौँ ।
सौराहदेखि पश्चिममा रहेका बिसहजारी तालको मौलिकता, दक्षिणकाली सामुदायिक वन क्षेत्रको रमणीयता, बाटुलीपोखरी सामुदायिक वनभित्र रहेको बाटुलीपोखरी तालको सुन्दरता, धार्मिक पर्यटकीय स्थल क्षीतामाई अनि विक्रम बाबाको ऐतिहासिकता, राप्तीको पश्चिम किनार घट्गाईको शालीनतासँगै मेघौलीस्थित राप्ती र नारायणीको मित्रता वास्तवमै चितवन पर्यटन विकासका आधार क्षेत्र हुन्, जसको संरक्षण र प्रवद्र्धनबिना हामी चितवनको वास्तविक सौन्दर्यता आँकलन गर्न सक्दैनौँ । त्यसो त, पूर्वमा रहेको सौराहा, उत्तरमा रहेको ऐतिहासिक क्षेत्र उपरदाङगढी, सूर्योदय पहाड भनेर चिनिने सिराइचुली, चेपाङबस्तीहरु रहेको सिद्धि, कोराक, काउलेजस्ता ट्रेकिङको सम्भावना बोकेका पहाडहरु पर्यटकीय हिसाबले उत्ति नै मह¤वपूर्ण छन् । यता, राप्ती र नारायणीको संगम स्थल मेघौलीको गोलाघाट, गोही प्रजनन् केन्द्रको रुपमा रहेको कसरा र यहाँका ठूला ठूला जंगल रिसोर्टहरु पहिलेदेखि नै पर्यटकका रोजाइ नबनेका हैनन् । भौगोलिक सुगमता, पूर्वाधार सम्भाव्यता र प्राकृतिक सुन्दरताका हिसाबले पनि चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र, बरण्डाभारअन्तर्गतका सामुदायिक वनहरु र यहाँका गाउँबस्तीहरु नै पर्यटन विकासका प्रमुख आधारहरु हुन् । त्यसका लागि मेघौलीमा रहेको क्षेत्रीय विमानस्थलाई अन्तर्राष्ट्रिय विमानस्थल, जिल्लाभित्र रहेका विविध संस्कृति र रहनसहन भएका जनजाति समुदायको बस्तीहरुलाई सुविधासम्पन्न होमस्टेका रुपमा विकास गर्न सक्छौँ । त्यसैगरी, अन्तराष्ट्रियस्तरका ठूला ठूला होटल, रिसोर्ट र क्लबहरुको अवधारणालाई अघि बढाउने हो भने विकसित देशहरुका पर्यटकहरु भित्र्याउन पनि सक्षम हुन्छौँ हामी ।
पश्चिम चितवनको भरतपुर–१३ उज्ज्वलनगरमा रहेको बाटुलीपोखरी सामुदायिक वनभित्र रहेको मनमोहक पर्यटकीय हिसाबले अति रमणीय र सुन्दर बाटुलीपोखरी ताल संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । सिमसार क्षेत्र तथा आगन्तुक चरा अवलोकनका लागि प्रसिद्ध बाटुलीपोखरी क्षेत्रमा विभिन्न चरा देख्न सकिन्छ, जसमा विशेषगरी मंसिर १५ देखि फागुन १५ सम्म अर्थात् जाडो मौसममा बसाइँ सरी आउने साइबेरियन कर्मोरेन्ट तथा डाल्टर रहेका छन् । यी चराहरु जाडो मौसममा यस क्षेत्रमा बसोबासका लागि आउने गर्दछन् । तालवरपर एकसिंगे गैँडासमेत देख्न सकिने छ । सामुदायिक वनबीचमा करिब २० हेक्टर क्षेत्रफलमा फैलिएको ताल साना सिंचाइ परियोजनाअन्तर्गतको बजेटमार्फत सिंचाइका लागि बनाइएको पोखरीलाई तालमा रुपान्तरण गरिएको हो । यो ताल प्राकृतिक सौन्दर्यका हिसाबले अत्यन्तै रमणीय मानिन्छ । सौन्दर्यको अनुपम छटाको अनुभव त छँदैछ, सँगसँगै पर्यटकहरुले बाघ, भालु, गैँडा, मृग, रतुवा, बँदेलजस्ता दुर्लभ जंगली जनावरहरुलाई प्रत्यक्ष नांगो आँखाले देख्न सकिन्छ । यस तालको अर्को विशेषता हो– साइबेरियादेखि आएका विभिन्न प्रजातिका चराचुरूंगीको साथमा देखिने मयूर नाच ।

भरतपुर महानगरपालिकाको पर्यटकीय विकासको सम्भावना बोकेको रामसार सूचीमा सूचीकृत बिसहजारी, राइनोलगायतका विभिन्न तालतलैयाहरुलाई पर्यटकीय गन्तव्य स्थलका रुपमा विकास गरी पूर्वाधार तयार गर्ने, गोलाघाटमा पुल, मेघौली, शुक्रनगर, जगतपुर, पटियानी, गीतानगर, दिव्यनगर, गुञ्जनगर, मंगलपुर, कालाबञ्जर तथा मजुवा सामुदायिक वन तथा मध्यवर्ती क्षेत्र आदिको नदी तटलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरी नारायणी र राप्तीको संगम स्थललाई पर्यटकीय प्रमुख गन्तव्य स्थलका रुपमा विकास गर्नुपर्दछ । नारायणी, राप्ती तटबन्धनसहितको रिङरोड र पर्यटकीय क्षेत्र बनाउनुपर्दछ । भरतपुर महानगरपालिकाको साबिक मंगलपुर गाविसको सिमानामा रहेको शिवघाट क्षेत्रलाई धार्मिक र पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न गुरूयोजना निर्माण गरिनुपर्दछ । मुकुन्देश्वर महादेवको प्राचीन मूर्ति रहेको सो ठाउँमा झन्डै दुई बिघा क्षेत्रफलमा मन्दिर, पार्क, धर्मशाला र पिकनिक स्थल बनाउने योजनाका साथै यस क्षेत्रको धार्मिक मह¤वलाई अझै उजागार गर्ने र पर्यटनको विस्तार पनि गर्ने योजनाका साथ गुरूयोजना निर्माणमा जुट्नुपर्छ । पाल्पाली राजा मुकुन्द सेन प्रथमले विसं १५९५ देखि १६०० सम्मको पाँच वर्षको अवधिमा ११ वटा रूद्र स्थापना गरेका थिए । शिवघाटमा सोही बेला स्थापना गरेको रूद्र रहेको इतिहासकारहरुले पत्ता लगाएका छन् । त्यसैले, यो ठाउँ प्राचीन र धार्मिक पनि छ । यस्तो ठाउँको विकास हुनुपर्छ । धार्मिक स्थलका साथसाथै पर्यटकीय स्थल पनि बनाएमा सर्वसाधारणको जीवनस्तरलाई माथि उठाउन पनि सकिने हुन्छ । ज्योतीनगरमा रहेको शिवमन्दिर, गुम्बा, मठमन्दिरहरु, ताल र पर्साढापमा रहेको परशुराम कुण्डको संरक्षण गर्न जरूरी छ । नारायणगढबाट नारायणी नदी हुँदै गोलाघाट र राप्ती किनारैकिनार आँपटारीसम्म आउटरिङ रोड बनाउनुपर्छ । महानगरपालिकालाई यसको पनि चुनौती छ । नारायणी नदीमा बोट चलाएर जलमार्गको विकास गर्न सकिन्छ । आउटरिङ रोड बनेपछि जगतपुर, गोलाघाट र पटिहानी दोस्रो सौराहा बन्न सक्छन् ।

