१९ माघ, काठमाडौं । सम्झौता नवीकरण नगरेपछि भारतीय टेलिभिजन स्टार इण्डियाले नेपालको डिसहोममा आफ्ना ३२ वटा च्यानलहरुको प्रसारण बन्द गरिदिएको छ । लामो समयसम्म बक्यौता नतिरेपछि यसअघि ३ पुसमा पनि स्टार इण्डिया सेवा बन्द गराएको थियो । तर, पछि बक्याैता तिर्ने सहमति गरेर च्यानल सुचारू गरिएको थियो ।
स्टार इण्डियाले प्याकेजको मूल्य आफुखुसी बढाएकाले वार्षिक रुपमा गर्नुपर्ने सम्झौता नवीकरण नगरिएको डिसहोम मिडियाका प्रबन्ध निर्देशक सुदीप आचार्यले जानकारी दिए । यसका कारण स्टारका च्यानलहरुको प्रसारण बन्द भएको छ ।
नेपालमा स्टार प्याकेज अन्तरगत ३२ वटा च्यानलहरु प्रसारण हुन्छन्, जसमध्ये स्टार, स्टार स्पोर्टस, स्टार गोल्ड लगायतका च्यानल नेपाली दर्शकमाझ लोकप्रिय छन् । खरिद गरिसकेको टेलिभिजन प्याकेजमा स्टारका च्यानलहरु नभएको भन्दै उपभोक्ताले गुनासो गरेका छन् ।
विदेशी च्यानहरुले ग्राहक संख्याका आधारमा मात्रै शुल्क लिन पाउने नियम बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आग्रह गरिएको प्रबन्ध निर्देशक आचार्यले बताए । ‘भारतीय च्यानलले दादागिरी गरे,’ आचार्य भन्छन्,‘अब नेपाली टेलिभिजन सामग्रीलाई बलियो बनाउन लगानी गर्नुपर्छ ।’