मेघौली ।पश्चिम चितवनको पर्यटकीय नगरी मेघौलीको थारु सामुदायिक होमस्टे आन्तरिक पर्यटकले भरिभराउ छन ।
होमस्टे संचालकहरू आन्तरिक पर्यटकको चहलपहल बढेपछि उत्साही भएका हुन् । कोरोना कहरका कारण दुई वर्षदेखि मेघौलीको पर्यटन प्रभावित भएको थियो ।
पछिल्लो समयमा आन्तरिक पर्यटनमा वृद्धि भएको मेघौलीको थारू होमस्टेका अध्यक्ष सोमलाल महतोले जानकारी दिए । ‘यतिबेला मेघौलीको थारू होमस्टेमा आन्तरिक पर्यटकको भिडभाड छ,’ उनले भने, ‘यहाँका होटल पनि भरिभराउ छन् ।’कोरोनाका कारण केही वर्ष सुस्ताएको होमस्टे व्यवसायमा अहिले आशा पलाएको महतोले बताए ।
मेघौलीको थारू समुदायको होमस्टेमा मानिसहरूको चाप बढी छ । पश्चिम चितवनको मेघौलीमा घुम्न आउने पर्यटकको मोह थारु सामुदायिक होमस्टेमा देखिएको छ । न्यानो आतिथ्यताका माध्यमबाट गाउँघरका परम्परागत संस्कृति, रहनसहन तथा मौलिक उत्पादन तथा सेवाले पर्यटकहरुले होमस्टे रोज्न थालेका हुन्।
‘दुई वर्ष यहाँको व्यवसाय ठप्प रह्यो, अहिले पर्यटकको चहलपहलले आशा जगाएको छ,’ उनले भने, ‘दैनिक जसो ग्रुपहरू अइरहेकाछन होमस्टेहरू भरी भराउ छन, यो क्रम निरन्तर रहे व्यवसायीलाई राहत हुन्छ ।’उनले भने,।
बजारको कोलाहलपूर्ण वातावरणमा बसिरहेका मानिसहरु फुर्सदको समयमा परिवार तथा साथीभाइसँग मिलेर मेघौलीको थारु होमस्टेमा आनन्द लिन आउने अध्यक्ष सोमलाल महतो बताउँछन् ।

हामेस्टे संचालिका रोशमा कुमारी महत्तोले व्यवसाय सन्तोष जनक रहेको बताइन।
‘प्रायः सरकारी कर्मचारी बिदाको दिनमा आउने गर्छन्’, उनले भने, ‘अरु बार पनि प्रायः टुट्दैन ।’ थारु जातिको खाना र संस्कारले पर्यटकको मन लोभ्याउने दाबी गर्छिन् उनी । जंगलनजिक शान्त वातावरणमा बसेर काम गर्न पाउने भएकोले प्रयोगात्मक अध्ययनका लागि हरेक वर्ष विद्यार्थीहरु आउने गरेको उनी बताउँछिन् ।
मेघौलीमा थारु समुदायले २०६७ माघ १० गतेदेखि होमस्टे सुरू गरेका हुन् । आठवटा घरमा रहेको होमस्टेबाट अहिले करिब ४५ जना पाहुनालाई सेवा दिन सकिने व्यवस्था रहेको अध्यक्ष महतो बताउँछन् ।
मेघौलीमा थारु समुदायले २०६७ माघ १० गतेदेखि होमस्टे सुरु गरेका हुन्। पाँच घरबाट सुरु भएको होमस्टे अहिले आठवटा घरमा सञ्चालित छ। भरतपुर महानगरपालिका वडा नं २७ को मेघौलीका जीवन चौधरीले सुरुदेखि नै होमस्टे चलाएका हुन्।
घरेलु वातावरणको होमस्टेको थप प्रवद्र्धन गर्न सके पर्यटक र होमस्टे सञ्चालक दुवैलाइै फाइदा हुने उनले बताए। होमस्टेमा आउने स्वदेशी र विदेशी पर्यटकलाई थारु संस्कृति र परम्परासँग परिचित गराउने गरिएको छ। थारु समुदायको कला, संस्कृति, परम्परा, भेषभूषाको जानकारी लिँदै थारु परिकारको स्वादसमेत लिन सकिन्छ। यससँगै जंगल सफारी, डुंगा सफारी गरेर पनि पर्यटकले रमाइलो लिन सक्ने चौधरीले वताए ।
भरतपुर महानगरपालिकाको २७ र २८ नं वडामा मेघौली पर्छ । भरतपुरबाट करिब २५ किलोमिटरको दूरीमा रहेको मेघौलीको सबैभन्दा आकर्षणको केन्द्र भने गोलाघाट नै हो । अहिले पनि भरतपुरबाट दैनिक सयौँको संख्यामा गोलाघाट घुम्न आउने गर्दछन् । साँझपख सूर्यास्त हेर्नेको घुइँचो नै लाग्ने गर्छ । राप्ती र नारायणी नदीको संगमस्थल भएकोले पनि यहाँको दृश्यले मनै लोभ्याउँछ । चितवन राष्ट्रिय निकुञ्जबाट निस्कने जंगली जनावर हेर्न पनि गोलाघाटमा मानिसहरुको चहलपहल हरेक दिन उस्तै देखिने मेघौली पर्यटन विकास समितिका अध्यक्ष हरिचन्द्र महतो बताउँछन् ।
मेघौलीमा पर्यटकीय गतिविधि सञ्चालन गर्नका लागि भरतपुर–२८, भङ्गाहामा साझा कल्चर हाउस निर्माण भैरहेको बागमती प्रदेशसभा सदस्य कृष्णप्रसाद भूर्तेलले जानकारी दिए । बहुसांस्कृतिक भवनले होमस्टेलाई सांस्कृतिक कार्यक्रम देखाउन सहज हुने उनले बताए । मेघौली राइनो पार्क, नारायणी नदीमा क्रुज सञ्चालनको तयारी भएकाले पनि मेघौलीको सम्भावना अझै बलियो रहेको उनको भनाइ छ ।

