दक्षिण अफ्रिकामा सम्पन्न आईसीसी महिला टी-२० विश्वकपको उपाधि अस्ट्रेलियाले छैटौँ पटक जितेको छ। उपाधिमा दोस्रो पटक ह्याट्रिक गर्ने क्रममा अस्ट्रेलियाले आयोजक दक्षिण अफ्रिकामाथि १९ रनको सहज जित हासिल गर्यो।
केपटाउन स्थित न्युल्यान्डस मैदानमा भएको आठौं संस्करणको फाइनलमा टस जितेर पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रनको स्कोर तयार गरेको थियो। जवाफमा १ सय ५७ रनको लक्ष्य पछ्याएको घरेलु टोली निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रनमै समेटियो। दक्षिण अफ्रिकाका लागि ओपनर लउरा वलभार्डको ६१ रन सर्वाधिक रह्यो। उनी बाहेक चोले ट्रायोनले २५ रन बनाउनु बाहेक अन्यको प्रदर्शन गतिलो रहेन।
त्यसअघि पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाका लागि ओपनर बेथ मोनीले ७४ रनको अविजित इनिङ खेलिन। त्यस्तै एस्ली गार्डनरले २९ रन बनाउँदा अर्की ओपनर एलिसा हेलीले १८ रन बनाएकी थिइन।
अस्ट्रेलियाले फाइनल प्रवेश गर्ने क्रममा भारतको चुनौती पन्छाएको थियो भने दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई हराएको थियो। जारी विश्वकपमा पनि अस्ट्रेलियाको दबदबा भने कायम रह्यो। घरेलु टोली दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा प्रवेश गरेको थियो।

